arrow

काठमाडौंको मेयरका लागि मेरो आकाँक्षा छैनः गगन थापा

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
Gagan-dai-haihai.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले आफूले काठमाडौं महानगरपालिकाको मेयरमा उमेद्वार बन्ने कुनै आकाँक्षा नराखेको प्रष्ट पारेका छन् । काठमाडौं महानगरपालकाको मेयरमा थापा स्वास्थ्यमन्त्री पद छोडेर आउने चर्चा भइरहँदा उनले आफू मेयरको लागि आकाँक्षी नभएको प्रष्टयाएका हुन् । 
 
काठमाडौंको मेयरमा पार्टीबाट धेरै साथीहरु आकाँक्षी हुनुभएको आफ्नो जानकारीमा रहेको जनाउँदै थापाले हाम्राकुरासँग भने, ' मैले मेयरका लागि कुनै आकाँक्षा राखेको छैन र राख्दिन पनि ।'
 
पार्टीका विभिन्न तहका नेता कार्यकर्ता र शुभेच्छुकहरुले कार्यकारी भुमिकामा रहेको मेयरमा आफूलाई देख्न चाहेको भन्दै बारम्बार भनिएपनि त्यसलाई विनम्रतापूर्वक अस्विकार गरेको थापाले बताए । 
 
राजनीति गरिरहँदा कार्यकारी पदमा रहेर जनताको काम गर्ने इच्छा र हुटहुटी हुँदा कुनै बेला मेयरको नि आकाँक्षा राखिएपनि अहिले भने त्यो चरण पार भएको उनले बताए । थापाले थपे, 'आफूले चाहेको बेलामा स्थानिय चुनाव भएको भए मेयरमा लड्ने अवस्था पनि हुन्थ्यो होला तर त्यो चरण सकिइसक्यो।'
 
पार्टीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर पठाएसँगै आफूले पार्टीको साख नगिर्ने गरि देश र जनताको पक्षमा काम गरिरहेको उल्लेख गर्दै थापाले भने बरु अहिले शुरुवात भएका स्वास्थ्य क्षेत्रका कामलाई निष्कर्षमा पुर्‍याउन आफू इच्छुक रहेको बताए । 
 
स्थानिय तहको कार्यकाल ५ बर्षको हुने र त्यस अवधिमा आफ्नो परिकल्पना अनुसार काम गर्न पाइने बारेमा आफू जानकार रहेपनि अब यो पदको लागि पार्टीका अरु साथीहरुलाई नै जिम्मा दिनुपर्ने धारणा उनले राखे । उनले थपे, ' समय छोटो र लामो भन्ने भन्दा पनि इच्छाशक्ति भए लामो समयमा पनि प्रभावकारी धेरै काम गर्न सकिने अनुभव स्वास्थ्य मन्त्रालमा पाइरहेको छु।'  
 
पार्टीका तर्फबाट उमेद्वार भएका जुनसुकै साथीको लागि पनि प्रचार प्रसारमा उत्रिएर जीताउन आफू अहोरात्र खटिने थापाले बताए । आफ्नो कुनै उमेद्वार नभएको र पार्टीका तर्फबाट तय भएको उमेद्वारलाई जीताउने हिसाबले लाग्ने बताउँदै थापाले पार्टीका सबै नेता कार्यकर्ताहरु एकमतका साथ लागे स्थानिय तहमा पार्टीको जीत सुनिश्चित भएको बताए । 
 
करिव २ दशकपछि हुन लागेको स्थानिय तहको निर्वाचनका लागि अहिल देशैभर उत्साह रहेको छ । वैशाख ३१ मा हुने निर्वाचनमा पार्टीका तर्फबाट उमेद्वार बन्न काँग्रेसका स्थानियस्तरदेखि केन्द्रीयस्तरका कैयन नेता कार्यकर्ता आकाँक्षी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ