ट्रिनिडाड । वेष्ट इन्डिजविरुद्धको दोस्रो टी–२० क्रिकेटमा पाकिस्तानले ३ रनको रोमाञ्चक जित हासिल गरेको छ । ट्रिनिडाडको पोर्ट अफ स्पेनमा बिहीबार राति भएको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा अलआउट हुँदै १३२ रन बनायो ।
सोइब मल्लिकले २० बलमा सर्वाधिक २८ रन बनाएको इनिङमा बाबर अजमले २८ बलमा २७ तथा वहाब रियाजले १० बलमा २४ रन बनाए । सुनिल नाराइन र कार्लोस ब्राथवेटले ३–३ विकेट लिए ।
जवाफमा वेष्ट इन्डिजले ८ विकेटको नोक्सानीमा १२९ रनमात्र बनाउन सक्यो । मार्लोन सामुइल्सले ३५ बलमा ४४ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
त्यस्तै जासन होल्डरले १७ बलमा नटआउट २६ रन जोडे । शदाब खानले १४ रन खर्चेर ४ विकेट लिंदै म्यान अफ द म्याचको उपाधि पनि पाए ।
खेलका क्रममा चड्विक वाल्टनसंग ठोक्किन पुगेपछि पाकिस्तानी अहमद शेहजाद अस्पतालमै जानु परेको छ ।
यो रोमाञ्चक जितसंगै पाकिस्तानले चार खेलेको टी–२० श्रृंखलामा २–० को अग्रता लिएको छ ।