विराटनगर उपमहानगरपालिको मेयरमा कुन पार्टीबाट क-कसको दाबेदारी ?

प्रकाशित मिति : २०७३ चैत १९ शनिबार
फाइल तस्वीर
विराटनगर। निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चर्चा–परिचर्चाले तीव्रता पाएको छ । मोरङको ग्रामीण क्षेत्रदेखि विभिन्न बजारका चोक चोक तथा विराटनगर उपमहानगरपालिकाका गल्ली गल्लीमा निर्वाचनकाका बारेमा चर्चा–परिचर्चा सुरु भएको छ । 
 
‘यो निर्वाचन सम्पन्न भएपछि बढीमा नौ महिनाभित्रै सङ्घीय प्रदेश र संसद्को निर्वाचन हुन्छ’ । स्थानीय तहको निर्वाचनको अत्यधिक प्रभाव ती दुई निर्वाचनमा पर्ने भएकाले सबै दलले आफ्ना उम्मेदवारलाई जिताउनका लागि आन्तरिक रुपमा प्रचारप्रसार सुरु गरिसकेका छन् । 
 
यतिखेर विराटनगरका चोकहरुमा कुन पार्टीबाट को–को उम्मेदवार हुने विषयमा अड्कल सुरु भएका छन् । निर्वाचनमा कुन पार्टीका मेयर  हुने र कसलाई उम्मेदवार बनाउँदा जित हुने विषयमा समेत चर्चा हुन थालेका छन् । 
 
विराटनगर उपमहानगरपालिकाको प्रमुखमा एक दर्जनभन्दा बढी व्यक्तिले सार्वजनिक रुपमै उम्मेदवार बन्ने इच्छा प्रकट गरिसकेका छन् । 
 
वैशाख ३१ गते नै निर्वाचन हुने सम्भावना बढ्न थालेपछि मतदातामा देखिएका अन्योलता क्रमिक रुपमा घट्न थालेका छन् । दुई दशकको अन्तरालमा हुन गइरहेको यस निर्वाचनमा पहिलोपल्ट उम्मेदवार बन्न इच्छुक भएका व्यक्ति र पहिलोपल्ट मतदान गर्ने अवसर प्राप्त गरेका मतदाता दुबै अत्यधिक उत्साहित देखिन्छन् । 
 
विराटनगर उपमहानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका आधा दर्जनभन्दा बढीले आफ्ना इच्छा सार्वजनिक गरिसकेका छन् । यसरी इच्छा जाहेर गर्नेहरुमा नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुलीका साथै राजु थापा, गीता आचार्य, मनोज बस्नेत, नारायणबाबु कार्की र फूलकुमार लालवानी रहेका छन् । 
 
सो पदमा नेकपा (एमाले)को तर्फबाट पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पार्टीका पूर्व जिल्ला अध्यक्ष महेश रेग्मी, सागर थापा, बाबुराम कार्की र भगवान थापाको चर्चा–परिचर्चा छन् । यस्तै नेकपा माओवादी(केन्द्र)बाट भोगेन्द्र यादव र उपप्रमुखमा नमिता न्यौपानेले विराटनगर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिइने सम्भावना रहेको चर्चा छ । 
 
विराटनगर उपमहानगरपालिकाको प्रमुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीकातर्फबाट विराटनगर उपमहानगरपालिका पूर्वप्रमुख प्रह्लाद साह र दुर्गा अधिकारी तथा दिनेश साहको चर्चापनि त्यत्तिकै छ । 
 
मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने कि नहुने चर्चा सँगै अब निर्वाचन निश्चित रुपमै हुने विश्वास आम मतदातामा देखिएका छन् । रासस 
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ