arrow

प्रचण्डको गृहजिल्लामा कुन कुन पाटीका को को छन चुनावी दौडमा ?

भरतपुर महानगरमा चुनावी चर्चा

logo
नारायण अधिकारी,
प्रकाशित २०७३ चैत २२ मंगलबार
Prachanda-new-pose.jpg.jpeg
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला र नेपाली काँग्रेसका पूर्व सभापति स्व सुशील कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा निर्वाचन नजिकिँदै जाँदा चुनावी चहलपहल बढेको छ । 
 
साथै एमाले पोलिटब्युरो सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको चुनावी क्षेत्र रहेको जिल्ला र राप्रपाका उपाध्यक्ष एवम् मन्त्री विक्रम पाण्डेले निर्वाचन जितेको क्षेत्र नं ५ समेत रहेको महानगरपालिका भएकाले पनि भरतपुरको निर्वाचन चर्चा शिखरमा पुगेको हो । 
 
चितवन क्षेत्र नं ४ को पूरै भूभाग एव्म क्षेत्र नं ३ र ५ को आंशिक भूभागमा पर्ने भरतपुर महानगरपालिकामा एक लाख ५१ हजार मतदाता छन् । पहाडको कविलास गाउँदेखि प्रमुख सहर नारायणगढ हुँदै राप्ती र नारायणी नदीको सङ्गमस्थल गोलाघाटसम्मको क्षेत्र महानगरपालिकाले ओगटेको छ । 
 
महानगरमा परेको चितवन क्षेत्र नं ४ मा विगतका निर्वाचनमा नेपाली काँग्रेसले विजय हासिल गर्दै आएको छ भने आंशिक क्षेत्र पर्ने क्षेत्र नं ३ मा नेकपा (एमाले) र क्षेत्र नं ५ मा राप्रपा एवम् माओवादीले विजय हासिल गर्दै आएका छन् । त्यसैले पनि यो महानगरपालिकामा चारवटै दलको विजयी हुने दाबी भएपनि नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा कडा प्रतिस्पर्धा हुने विश्लेषण सुनिन्छ । 
 
भरतपुर महानगरपालिकामा एक नगर अध्यक्ष (मेयर) सहित एक१ सय ५० जनाप्रतिनिधि चयन हुनेछन् । चितवनलाई काँग्रेसले आफ्नो बलियो आधार क्षेत्रका रूपमा लिँदै आएको छ । पूर्वी चितवनमा काँग्रेसको पकड कम भए पनि पश्चिम चितवनमा भने काँग्रेसको प्रभाव बढी छ । सोही कारणले गर्दा पनि काँग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाले दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो गृह जिल्ला बाँकेभन्दा पहिला चितवन क्षेत्र नं ४ बाट उम्मेदवारी घोषणा गरेका थिए । 
 
उनले भारी मतका साथ निर्वाचन जितेका थिए। क्षेत्र नं ४ को सबै भूभाग भरतपुर महानगरपालिकाभित्र नै पर्छ । काँग्रेसको प्रभाव क्षेत्र भएका कारण जित्न सक्ने सम्भावना बलियो भएको दाबी गर्दै काँग्रेसबाट आकाङ्क्षी पनि बढी देखिएका छन् । 
 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकटले आ–आफ्नै उम्मेदवारी दाबी गर्दै आएका छन् । त्यसो त तिनै नेताका समर्थक धेरै भएपछि आन्तरिक रुपमै मिलाउन कठिन देखिएको छ । देउवा निकट मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, पृथ्वीमान गुरुङ, ऋषि पाण्डे, दीर्घमान श्रेष्ठलगायतको दाबी रहेको छ । 
 
वरिष्ठ नेता पौडेल पक्षका प्रा डा सूर्यकान्त घिमिरे, टेकप्रसाद गुरुङ, विजयराज शर्मा भुसाल, शङ्कर कँडेल, राजेश्वर खनालको दाबी छ भने सिटौला निकट दिनेश कोइरालाले पनि दाबी गर्दै आएका छन् । समूहभित्र नै मिलाउन कठिन देखिएको छ । पार्टीमा देखिएको तीन धारले गर्दा मेयरको टिकट कसले पाउने भन्ने विषय टुङ्गो नलागेको काँग्रेसका एक नेताले जानकारी दिए । पार्टीमा मेयर र उपमेयरका विषयमा अहिले कुनै प्रकारको निर्णय नभएको जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताउनुभयो । सहमतिमै उम्मेदवार चयन हुने उनले दाबी छ । 
 
नेकपा (एमाले)भित्र पनि भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार को बन्ने भन्नेमा दौडधुप सुरु भएको छ । 
 
काँग्रेसका प्रभाव क्षेत्र रहेको पश्चिम चितवनसहितको भूभाग समेटेर बनेको भरतपुर महानगरपालिकामा एमालेले काँग्रेसलाई नै आफ्नो प्रमुख प्रतिस्पर्धीका रुपमा उभ्याएको छ । नेकपा (एमाले)मा पनि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एवम् वामदेव गौतम निकटहरुले लविङ सुरु गरेका छन् । 
 
ओली निकट विजय सुवेदी, देवी ज्ञवाली, डा तिलचन्द्र भट्टराई, पार्वती रावल, कृष्णप्रसाद भुर्तेललगायतको दाबी छ । नेपाल पक्षका तेजेन्द्र खड्का, घनश्याम भट्टराई, अरुणपीडित भण्डारी, कृष्णराज न्यौपानेलगायतको दाबी रहेको छ भने गौतम पक्षका केशवलाल श्रेष्ठ पनि पछिल्लो समय चर्चामा छन् । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालको घर रहेको भरतपुर महानगरपालिकाभित्र माओवादी केन्द्रका लागि भरतपुर महानगरपालिको मेयर प्रतिष्ठाको विषय बन्दै गएको छ । प्रधानमन्त्री दाहालले चितवन जिल्लाका लागि हालै करोडौँ बजेटको प्याकेज कार्यक्रम ल्याएपछि माओवादी केन्द्रमा अझै बढी उत्साह थपिएको छ ।
 
 यसै क्षेत्रमा अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्र बनाउने योजना बनाएकाले पनि माओवादीको मत सुरक्षित गर्न बलियो उम्मेदवार उठाउने माओवादी योजना रहेको छ । केन्द्रबाट महानगरपालिकाको मेयरमा नारायण दाहाल, सूर्य सुवेदी पथिक, घनश्याम दाहाल अविनाश, ऋषि पौडेल, मित्रराज दवाडीको नाम चर्चामा छ । प्रचण्डले चाहेको व्यक्ति नै भरतपुर महानगरपालिकाका लागि माओवादी केन्द्रको उम्मेदवार बन्ने निश्चित छ । 
 
राप्रपाले जिल्ला अध्यक्ष बद्री तिमिल्सिनालाई नै महानगरपालिको मेयरमा पठाउने चर्चा चलेको छ । तिमिल्सिनासँगै भरतपुर महानगरपालिकाका पार्टी प्रमुख विष्णुप्रसाद खरालले पनि मेयरमा उम्मेदवारीको आकाङ्क्षा राखेका छन् । एद्यपि यसै क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भई मन्त्री एवम् पार्टीका उपाध्यक्ष रहेका विक्रम पाण्डेको चाहना बेगर मेयरको उम्मेदवार हुन सक्ने देखिँदैन । 
 
४३२ दशमलव ९५ वर्ग किमी क्षेत्रफल रहेको भरतपुर महानगरपालिकामा २९ वडा रहेका छन् भने जनसङ्ख्या दुई लाख ८० हजार रहेको छ । मतदाता एक लाख ५१ हजार ६ सय ४१ जना रहेका छन् । महानगरपालिकामा झन्डै ४० प्रतिशत जनजाति बाहुल्य छ । 
 
चितवन जिल्लामा २४ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दल दर्ता गरेका छन् । चितवन जिल्लामा रहेका १६१ वटा मतदानस्थलमध्ये भरतपुर महानगरपालिकामा मात्रै ६५ स्थल रहने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ