arrow

काँग्रेसलाई वुद्धिजीवीको सुझाव–स्थानीय तहमा छुट्टै घोषणापत्र बनाउनुस्

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
cong-news-aa.jpeg

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको घोषणापत्र तयार पार्न वुद्धिजीवीसँग सुझाव लिएको छ । पार्टी केन्द्रीय सदस्य महेश आचार्यको संयोकत्वमा गठित  घोषणापत्र तयारी समितिले सुझाव लिएको हो । घोषणा पत्र तयार गर्न सुझाव संकलनका लागि बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा पेशागत संघ सङ्गठनका प्रतिनिधिले स्थानीय तहमा पार्टीगत गुटको अन्त्य गरी सर्वस्वीकार्य उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिए ।

प्रजातान्त्रिक विचार अवलम्बन गरेका पेसागत सङ्गठनका प्रतिनिधि, पूर्व उच्च प्रशासक, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, प्राध्यापक, पत्रकार, अधिवक्तालगायतले लिखित तथा मौखिक सुझाव दिए । सुझाव दिने अधिकांशले   केन्द्रीय घोषणापत्रसँगै स्थानीय मुद्दा समेटिने गरी स्थानीय तहमा समेत घोषणा पत्र बनाउनुपर्ने सुझाव दिए । मंगलबारमात्रै गोरखा काँग्रेसले स्थानीय तहमा आफ्नै घोषणापत्र बनाउने उद्घोष् गरेको थियो ।

सरकारले आगामी वैशाख ३१ गते एकै दिन देशभर ७ सय ४४ तह स्थानीय तहको निर्वाचन हुने भन्दै तिथी घोषणा गरेको छ । यस निर्वाचनबाट कुल ३६ हजार ६ सय ३९ जनप्रतिनिधि निर्वाचन हुनेछन् । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको समसामयिक जटिल राजनीतिक परिस्थितिमा ठूलो पार्टीका नाताले कांग्रेसलाई बढी चुनौती थपिएको बताए । देउवाले प्रजातन्त्र बचाउन कांग्रेसले जित्नै पर्ने आवश्यकता औँल्याए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पेशागत बुद्धिजीवीबाट पार्टीको कार्यदिशा सञ्चालनका लागि महत्पूर्ण सुझाव आएको बताउँदै सुझाव घोषणा पत्रमा समेटिने बताए । समितिले चैत मसान्तसम्म प्रारम्भिक मस्यौदा तयार गरी विज्ञसँग पुनः छलफल गरी वैशाख पहिलो सातासम्म घोषणा पत्रलाई अन्तिम रुप दिने तयारी थालेको छ । समितिले घोषणापत्रका बारेमा सुझाव लिन यही चैत २५ गते केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक डाकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ