नवलपरासी । नवलपरासीको गैँडाकोटमा अवस्थित प्रसिद्ध धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्र मौलाकालिका मन्दिरलाई बेलायतबाट एक व्यवसायीले लाखौँको सहयोग गरेका छन् । मन्दिरमा धर्मकर्मका लागि आउने श्रद्धालु भक्तजनहरुको उचित व्यवस्थापन तथा मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि बेलायतमा व्यवसाय गर्ने सफल युवा व्यवसायी रविजंग लामिछानेले २० लाख ५० हजार बराबरको सहयोग गरेका हुन् ।
मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुलाई खाद्यान्नको उचित व्यवस्थापनका लागि लामिछानेले स्वर्गीय पिता चन्द्रजंग लामिछानेको स्मृतिमा चन्दे्रश्वर भोजनालय निर्माणका लागि १० लाख नगद प्रदान गरेका छन् । सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि लामिछानेले प्रदान गरेको चेक धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका आर्थिक व्यवस्थापन उप–समिति सदस्य मिना महत मार्फत कार्यसमिति अध्यक्ष विष्णुहरि रिमाललाई हस्तान्तरण गरिएको छ । भोजनालय भने अहिले निर्माणको क्रममा रहेको छ । मन्दिरको गेट निर्माणका लागि अघिल्लो वर्ष ५० हजार प्रदान गरेका लामिछानेले खानेपानी व्यवस्थापनको लागि दिएको १० लाख रकमबाट मन्दिरमा चौमुखे धारा निर्माण गरी सञ्चालनमा आएको छ ।
मन्दिरलाई अहिले विभिन्न सरकारी तथा गैह्रसरकारी संघसंस्थाले सहयोग गरिरहेका छन् । ४५० वर्ष पहिला पाल्पाका राजा मणिमुकुन्द सेनले स्थापना गरेको यस मन्दिरमा रहेकी देवीको राज्यको पतनसँगै ओझेलमा परेको यो मन्दिरमा २०४४ सालदेखि मात्रै दैनिक बिहानबेलुका पूजाआराधना सुरु गरिएको हो । देवी भगवतीको दर्शन र चरणमा गएर गरिएको भाक्कलबाट मनोकांक्षा पूरा हुन्छ भन्ने मानिसहरुको धार्मिक विश्वास रहेको छ ।
मन्दिरमा विभिन्न समयमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, अर्थमन्त्री डा. रामशरण महतले पूजा अर्चना तथा अवलोकन गरेका थिए । पर्वतमा जन्मेर बेलायतमा व्यवसाय गर्ने लामिछानेले जन्मस्थान पर्वतमा नै रविचन्द्र ट्रष्ट मार्फत कम्तिमा ४० दलित, अनाथ, अशक्त–अपाङ्ग, आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार बालबलाकिालाई बोर्डिङ्गमा निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गर्दै सो अनुरुप कार्य अगाडि बढिसकेको बताएका छन् ।
सामाजिक सेवामा सक्रिय लामिछानेले गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले पु¥याएको क्षतिको पुर्नस्थापना तथा पुर्ननिर्माणका लागि व्यक्तिगत रुपमा लामिछानेले प्रधानमन्त्री राहत कोषमा ५१ लाख नगद र १० करोड बराबरको जिन्सी सामान उपलब्ध गराएका थिए । त्यस्तै, अघिल्लो वर्ष सिन्धुपाल्चोकको जुरेमा पहिरोमा पुरिएर ज्यान गुमाएका तथा घरवार विहिन भएकाहरुलाई राहत स्वरुप ५ लाख उपलब्ध गराएका थिए । उनले बेलायतमा बसी नेपालमा गरेको योगदानलाई समेत मूल्यांकन गर्दै नेपाल सरकारले गत वैशाख ११ गते लामिछानेकी माता पर्वतकी समाजसेवी रुक्मिणा लामिछानेलाई राष्ट्रपतिको हातबाट जनसेवाश्री पदक प्रदान गरिएको थियो ।