arrow

नवलपरासीमा बढ्यो चुनावी सरगर्मी, शशांकको पकड क्षेत्रमा त्रिपक्षीय टक्कर

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
nawalparasi_map_new.png

नवलपरासी । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नवलपरासी जिल्ला निर्वाचनमय बन्दै गएको छ । करिब १९ वर्षपछि हुन लागेको यस निर्वाचनको पक्षमा जिल्लामा क्रियाशील मधेस केन्द्रित दलबाहेक अरू सबै पक्षमा देखिएका छन् ।

सभा, जुलुस, घरदैलो लगायत प्रचार–प्रसारमुखी कार्यक्रम बाक्लिँदै जाँदा नवलपरासी जिल्ला चुनावी रोनक बढेको छ  । मधेस केन्द्रीय दलबाहेक सबैजसो राजनीतिक दलका नेता कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा पुगिरहेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन गर्ने व्यापक तयारी गरिरहँदा नवलपरासीमा ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने अवस्था छ ।

नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र रहेका छन् जसमध्ये निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ मा मधेस केन्द्रित दलको प्रभाव स्पष्ट देखिने अवस्था छ मधेसमा संविधान संशोधन गरी निर्वाचन हुन्छ वा दोस्रो चरणमा निर्वाचन हुन्छ त्यो हेर्न जनता पर्खेर बसिरहेका छन् । तर मधेसी मोर्चाले आफ्नो चुुवानी अभियान बाहिर नदेखाए पनि आन्तरिकरुपमा तयारी गरिरहेको बुझिएको छ ।

नवलपरासीमा क्षेत्र नम्बर १, २ र ३ मा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ भने निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ मा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ । १ नम्बर काँग्रेस महामन्त्री शशांक कोइरालाको प्रभाव क्षेत्र मानिन्छ । २०७० काे संविधानसभा निर्वाचनमा काेइराला क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।  राज्य पुनःसंरचनाअन्तर्गत जिल्लामा हाल ७ नगरपालिका र ८ वटा गाउँपालिका कायम भएका छन् । ती गाउँपालिका तथा नगरपालिकामा आ–आफ्नो दलको प्रचार गर्न यतिबेला विभिन्न दलका नेता तथा कार्यकर्ता प्रचारात्मक कार्यक्रम लिएर मतदाताको घरदौलोमा पुगेका छन् ।

मधेसी मोर्चाको माग सम्बोधन गरी केही दिन ढिला गरेर भएपनि सरकारले यसपटक स्थानीय निकायको निर्वाचन गराउनेमा जिल्लावासी आशावादी छन् । मोर्चा अहिलेसम्म निर्वाचनको पक्षमा खुलेर आएको छैन । तर निर्वाचनमा जाने सरकारसँग सहमति भएमा मोर्चामा आबद्ध नौ राजनीतिक दलमध्येबाट सबै गाउँ र नगर क्षेत्रमा संयुक्तरुपमा मिलेर उम्मेदवार प्रस्तुत गर्ने मधेसी मोर्चाको रणनीति रहेको बताइँदै छ ।

वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि नवलपरासीका १५ वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै जिल्लाका सात नगरपालिका र आठवटा गाउँपालिकामा निर्वाचन अधिकृत तोकिएका हुन् । जिल्ला सदरमुकाम परासीमा रहेको रामग्राम नगरपालिकाको जिम्मेवारी मुख्य निर्वाचन अधिकृत न्यायाधीश कैलाश केसीलाई नै दिइएको छ ।

कावासोती नगरपालिकामा रामलाल श्रेष्ठ, गैँडाकोटमा शिवप्रसाद रिजाल, मध्यविन्दुमा शिवराज सेढाईं, देवचुलीमा मानबहादुर खड्का, बर्दघाटमा बलराम अर्याल र सुनवलमा अर्जुनप्रसाद कोइरालालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, गाउँपालिकातर्फ हुप्सेकोटमा खगेन्द्रराज घिमिरे, बुद्धिकालीमा खिमबहादुर कार्की, वलिङटारमा दशरथ पँगेनी, विनयीमा धु्रव घिमिरे, त्रिवेणीसुस्तामा कृष्णप्रसाद चापागार्इं, प्रतापपुरमा माधवप्रसाद ढुङ्गाना, सरावलमा टीकाराम ज्ञवाली र पाल्हिनन्दनमा हरिशङ्कर ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला बाल कल्याण समितिको हलमा वैशाख ३ गतेसम्म स्थापना गरी काम थाल्ने र अन्य १५ वटै तहमा आगामी वैशाख १२ गतेसम्म स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा
स्थानीय तह निर्वाचनको तयारी नवलपरासीमा अन्तिम चरणमा पुगेको छ । स्थानीय तहमा निर्वाचनसम्बन्धी गतिविधि बढेको र निर्वाचन कार्यालयले आफ्ना काम चुस्त बनाएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाता सङ्ख्या रहेको नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । सात नगरपालिका र आठ गाउँपालिका रहेको नवलपरासीमा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी करिब एक हजार जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ