arrow

सुन तस्करीबारे लेखाले सरकारी वकिललाई बोलायो

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
व्यवस्थापिका–संसद्को-सार्वजनिक-लेखा-समिति.jpg.jpeg

काठमाडौ। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले सुन तस्करीमा प्रत्यक्षरुपमा संलग्न भएका व्यक्तिलाई त्यतिकै छाडिएको भन्दै सरकारी वकिललाई बोलाएर छलफल गर्ने भएको छ । समितिको आजको बैठकले विभिन्न समयमा अवैध तवरले आएका सुन कारोबारीमा संलग्नलाई कारबाही नगरी छाडेको, चित्तबुझ्दो बयान नलिएको तथा दोषी उम्काउने खेल भएको भन्दै सरकारी वकिल कार्यालयका सम्बद्ध अधिकारीसित छलफल गर्ने निर्णय गरेको हो ।

अवैध तवरले सुन आयात गर्नेलाई सरकारी वकिल कार्यालयले अनुसन्धान नै नगरीकन छाडेको र सरकारको गैरजिम्मेवारीपन देखिएको भन्दै बैठकमा सांसदहरु धनराज गुरुङ, रामहरि खतिवडा, विकास लम्साल, डोरप्रसाद उपाध्याय लगायतले धारणा राख्नुभएपछि सो विषयमा थप छलफल गर्न लागिएको हो ।

सभापति जनार्दन शर्माले कानुनीराज्यमा गलत काम गर्ने जो कोहीलाई त्यत्तिकै छाड्न नमिल्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने देखिएकाले आगामी बैठकमा सम्बद्ध कार्यालयलाई बोलाउने निर्णय गरेको जानकारी दिए ।

भूकम्पपीडितलाई तत्काल पचास हजार देऊ : समिति

समितिले भूकम्प प्रभावित क्षेत्रमा तत्काल रु ५० हजार राहत रकम उपलब्ध गराउनसमेत सरकारलाई आग्रह गरेको छ । गोरखा भूकम्पका कारण प्रभावित भएका १४ जिल्ला र समस्यामा रहेका ३१ जिल्लाका पीडित तथा चिसोका कारण ज्यान गुमाउन बाध्य भएका क्षेत्रको पहिचान गरी तत्काल राहत रकम उपलब्ध गराउन र औषधिमूलोको व्यवस्था गर्न आग्रह गरिएको समिति सदस्य रामहरि खतिवडाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ