नाकावन्दी लगायत आन्दोलनका कार्यक्रमको टुङ्गो १९ पुष पछि
प्रकाशित २०७२ पुष १४ मंगलबार
935
Shares
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानमा जनयूद्ध राख्न हुने अनि मधेस आन्दोलन राख्न किन नहुने ?भन्दै प्रश्न समेत गरे ।
काठमाण्डौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस १९ पछि नाकावन्दी लगायत आन्दोलनका कार्यक्रम परिवर्तन हुने बताएका छन् । सरकारले वार्ताका लागि विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमाकंन टुंग्याउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे ।
रिपोर्टर्स क्लब नेपालले मंगलवार बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ठाकुरले भने,‘मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुस १९ गते सम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुन्छ।’
ठाकुरले आफूहरुको ११ बुँदे प्रस्तावमा बुँदागत रुपमा छलफल गर्दै सहमति भएका विषयलाई एकातिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानु पर्ने बताए ।उनले संविधानको प्रस्तावनादेखि अन्त्यसम्म आफूहरुमाथि विभेदै विभेद गरिएको गुनासो गरे । उनले संविधानमा जनयूद्ध राख्न हुने अनि मधेस आन्दोलन राख्न किन नहुने ? भन्दै प्रश्न समेत गरेका थिए । उनले भने,‘तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु पर्यो। अहिलेसम्म भएका लिखित सहमतिको उल्लंघन भएको छ । तीन महिना भन्दा भन्दै चार महिना भइसक्यो कुरा मिलाएको भए भई हाल्थ्यो नि ।’