arrow

नेपाली पोशाक दिवस मनाइँदै

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
posak-dibas-photo.jpg.jpeg
काठमाडौं । नेपाली कला, सँस्कृति, भाषा र भेषभूषा लोप हुन लागेको भन्दै विगत तीन बर्षदेखि अङ्ग्रेजी नयाँ बर्षको दिन सञ्चालन हुँदै आएको तेस्रो प्रस्तावित नेपाली पोशाक दिवस–२०७२ पुस १७ गते आयोजना हुने भएको छ । बिदेशी सँस्कृतिको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्न लागेको भन्दै श्रद्धावान नेपाल नामक सामाजिक संस्थाले विगतका बर्षहरुमा झैं यसबर्ष पनि बिशेष कार्यक्रमको आयोजना गर्दै नेपाली पोशाक दिवसको आयोजना गरेको हो । 

नेपाल सरकारसमक्ष अङ्ग्रेजी नयाँ बर्ष जनवरी १ अर्थात पुस १७ गतेलाई नेपाली पोशाक दिवसका रुपमा मनाउन प्रस्ताव गरेको संस्थाले यसलाई प्रस्तावित नेपाली पोशाक दिवसका रुपमा मनाउँदै आएको छ । काभ्रे जिल्लामा स्थापना भएर देशैभरि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस श्रद्धावान नेपाल नामक गैर सरकारी संस्थाले नेपाली कला र सँस्कृतिको जगेर्ना गर्न भन्दै पोशाक दिवस मनाउन लागेको हो । बुधबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी दिंदै संस्थाका अध्यक्ष स्वामी राजानन्दले विदेशी सँस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली भेषभुषा र सँस्कृतिको जगेर्नाका लागि संस्थाले पुस १७ लाई नेपाली पोशाक दिवसको रुपमा मनाउन लागेको बताए । उनले भने, ‘आधुनिकीकरणको नाममा विदेशी कला, सँस्कृति, भेषभुषा अपनाउँदा नेपाली मौलिकता र पहिचान गुम्दै गएको छ, यसको संरक्षण र संबद्र्धनका लागि संस्थाले अङ्ग्रेजी नयाँ बर्षकै दिन नेपाली पहिचान जोगाउन कार्यक्रमको आयोजना गरेको हो ।’ नेपालमा बहुजाती, बहुभाषी, बहुसँस्कृति र आफ्नै छुट्टै मौलिकता रहेकाले सबै जातजाती र भाषाभाषीका मानिस मिलेर आ–आफ्नो मौलिक पन र राष्ट्रियताको जगेर्नाका लागि सबै क्षेत्रका मानिसले सहयोग गर्नु पर्ने संस्थाका अध्यक्ष राजानन्दले बताए । 

पुस १७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कार्यक्रमको बारेमा जानकारी दिंदै संस्थाले विभिन्न जातजाती, भाषाभाषीको आफ्नै सँस्कृति अनुसारका पोशाकमा बाजागाजा र झाँकी सहित र्यालीको आयोजना गरेको छ । काठमाडौंको विभिन्न स्थानको परिक्रमा पछि भृकुटिमण्डपमा आयोजना हुने बिशेष कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, सँस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्द पोखरेल लगायतका बिशिष्ट अतिथिको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । 

नेपाली कला सँस्कृतिको पहिचान झल्कने साँस्कृतिक कार्यक्रम सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति कार्यक्रममा रहने छ । कार्यक्रममा उपस्थित भएर नेपाली मौलिकपनको जगेर्नाका लागि सहयोग गरिदिनकालागि संस्थाले सबै सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ