arrow

स्वास्थ्य मन्त्रीलाई पत्र : खेलाडीलाई स्वास्थ्य सेवामा सहुलियत दिनुपर्छ

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
gaganlai_patra.jpg

काठमाडौँ । खेलाडीहरुले राष्ट्रले खेलाडीका लागि स्वास्थ्योपचारमा सहुलियत दिनुपर्ने माग गरेका छन् । स्वास्थ्यमन्त्री गगन थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी सुविधा सुझाव कार्यदलले पाँच बुँदे मागसहितको पत्र बुझाएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलकुदमा स्वर्ण पदक विजेतालाई स्वास्थ्य सेवामा शत्प्रतिशत निःशुल्क गर्नुपर्ने, रजत पदक विजेता र ओलम्पिक खेलमा सहभागीलाई ८० प्रतिशत निःशुल्क तथा सागमा कास्य पदक विजेतालाई ७० प्रतिशत, राष्ट्रिय खेलाडीलाई ५० प्रतिशतसम्म निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने माग कार्यदलले राखेको छ ।

नेपालमा सागमा स्वर्ण जित्ने १०२, एसियन खेलकुदमा स्वर्ण जित्ने आठ र सागमा रजत पदक जित्ने ओलम्पिकमा सहभागीसमेत गरी २३१ खेलाडी र दक्षिण एसियाली खेलकुद कास्य पदक विजेता ४४२ जना खेलाडीलाई ती सुविधा दिनुपर्ने कार्यदलको माग छ ।

विभिन्न खेलमा घाइते भएका खेलाडीको विशेष उपचार गर्न हालका अस्पतालमा सम्भव नभएकाले सरकारले खेलाडी र खेलकर्मीको उपचार गर्न छुट्टै अस्पताल आवश्यक भएकाले त्यसको पहल गरिदिन पनि कार्यदलले स्वास्थ्य मन्त्रीसमक्ष आग्रह गरेको छ ।

मन्त्री थापाले राष्ट्रका निम्ति खेल्ने खेलाडीको स्वास्थ्य सेवामा दिनुपर्ने सेवा सुविधाका बारेमा पटकपटक खेलकुद मन्त्रीसँग पनि वार्ता गरिरहेकाले यसलाई पूरा गर्न तत्काल कदम चालिने बताए । मन्त्री थापाले भने, “खेलाडीको विशेष उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता हामीले पनि महसुस गरेको विषय हो । यसबारे खेलकुद मन्त्रीसँग छलफल गरी कसरी अघि बढ्ने भन्ने कुरा चाँडै टुङ्गो लगाउनेछौँ ।”

कार्यदलका संयोजक पौडेलले खेलाडीलाई खेलेर बाँच्न सक्ने आधार बनाउन माग सम्बोधन हुन सकेमा नयाँ खेलाडीको पनि आगमन हुने विश्वास गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष तथा कार्यदलका सदस्य दीपक विष्टले खेलका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई राज्यले औषधोपचारमा सहयोग नगर्दा खेलबाटै वञ्चित हुनुपर्ने वा खेलकुद छाडी अन्य पेसा रोज्नुपर्ने अवस्था आएको बताए ।

खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले देशका लागि योगदान गरेका खेलाडी र खेलकर्मीलाई राज्यले पनि हेर्नुपर्छ भनी आफूहरुले लामो समयदेखि प्रयास गरिरहेको भए पनि केही उपलब्धि नभएको गुनासो गरे ।



नयाँ