कलैया । संयुक्त लोकतान्त्रिक मधसी मोर्चाका कार्यकर्ताले बाराको कलैयास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेका छन् । प्रहरी समयमा नपुगेका कारण उनीहरुले कार्यालयमा पेट्रोल बम प्रहार गर्नुका साथै कार्यालय परिसरभित्र रहेको वीपीको शालिक तोडफोड, कार्यालयको झ्यालका सीसा फुटाएका छन् । कार्यालय हाता वरिपरीको पर्खाल भत्काईदिएका छन् ।
ढिलो गरी पुगेको प्रहरीले आक्रोशित कार्यकर्तालाई शान्त पार्न तीन सेल अश्रुग्याँस प्रहार गरेको छ । बारामा अन्य दिनको तुलनामा प्रदर्शनकारीको संख्या अधिक रहेको स्थानीय पत्रकार गणेश रिजालले बताए । रिजालले करिब १० हजार कार्यकर्ता प्रदर्शनमा देखिएको जानकारी दिए । कांग्रेस कार्यालयमा आक्रमण गरेपछी एमालेको पार्टीकार्यालयतिर गएका कार्यकर्तालाई प्रहरीले तोडफोड गर्न नदिएपनि तनाव सिर्जना भएको छ ।
मोर्चा कार्यकर्ता पुग्नु अघि नै कार्यालयमा प्रहरी पुगिसकेकाले मोर्चा कार्यकर्ताले तत्काल आक्रमण गर्न नपाएको बताइएको छ । यद्यपि, उनीहरुले कार्यालय घेराउ गरेका छन् । केन्द्रमा भारतीय राजदूत रणजीत रायले आन्दोलनको समस्या समाधानको ‘फ्रेम वर्क’ बनिसकेको बताइरहँदा मोर्चा कार्यकर्ताले प्रदर्शन बाक्लो बनाएका छन् ।