arrow

सेपरेटर मेसिन आएपछि बिरामीलाई सुविधा

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
Parsa-hamrakura.jpg.jpeg

पर्सा । नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा वीरगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा सेपरेटर मेसिन जडान भएपछि रगत अभावको समस्या अब नहुने निश्चित भएको छ । 

स्वास्थ्य मन्त्रालयद्वारा रु ४० लाखको लागतमा खरिद गरेको रगत वर्गीकरण गर्ने सेपरेटर मेसिन सञ्चालनमा आएपछि रगत अभावको समस्या समाधान हुने रक्तसञ्चार केन्द्रका कर्मचारीहरुले बताएका छन् । 

अनियन्त्रित विद्युत्भार कटौतीका कारण सेपरेटर मेसिन सञ्चालनमा आउन नसकेपछि स्थानीय व्यापारी तथा समाजसेवीको रु ११ लाख आर्थिक सहयोगमा ३० केभिएको जेनेरेटर तथा अन्य उपकरण उपलब्ध गराएपछि रक्तसञ्चार केन्द्रले सेवा प्रवाह सुरु गरेको उद्योगपति विजय सरावगीले बताए । 

बिहीबार रक्तसञ्चार केन्द्रले अयोजना गरेको कार्यक्रममा उपकरण तथा जेनेरेटर हस्तान्तरण गरिएको जानकारी गराउँदै सरावगीले सेपरेटर मेसिन सञ्चालनमा आएपछि बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर तथा सिमावर्ती भारतीय क्षेत्रबाट वीरगन्जमा उपचार गराउन आउने बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

सङ्कलन गरिएका रगतलाई वर्गीकृत गरी प्लाज्मा, प्लेटलेट्स, क्रायो र पेकसेल छुट्याएपछि चिकित्सकको सल्लाहअनुसार बिरामीलाई आवश्यक तत्व दिन सकिने रक्तसञ्चार केन्द्र, वीरगन्जका प्रमुख प्रविण मानन्धरले जानकारी दिए । 

डेङ्गु, थाइसिमिया, सर्पदंश र करेन्ट लागे वा आगोमा जलेका बिरामीका लागि भरतपुर तथा काठमाडौँबाट वर्गिकृत रगत ल्याउनुपर्ने अवस्थाको अन्त्य सेपरेटर मेसिनले गरेको प्रमुख मानन्धरको भनाइ रहेको छ । 

वीरगन्जमा वर्गिकृत रगतको उपलब्धता नभएका कारण भरतपुर तथा काठमाडौँमा उपचार गराउन जाँदा बिरामीको ज्यान जोखिममा पर्नाका साथै समय र रकम दुवै बढी खर्चिनुपर्ने अवस्था रहेको थियो । 

रक्तसञ्चार केन्द्रमा सेपरेटर मेसिनको सञ्चालनसँगै वर्गिकृत रगत उपलब्ध भएपछि बिरामीको ज्यान जोखिम घटाउनाका साथै समय र पैसा दुवैको बचत गरेको जानकारहरु बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ