arrow

भारतीय राजदुत रेले भने ‘ओलीलाई भारतमा स्वागत गर्न तयार छौं’

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
rajdoot-rae.jpg.jpeg
काठमाडौ । नेपालकालागि भारतीय राजदुत रञ्जित रेले नेपालको सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन । 
 
नेपाल र भारतवीचको सम्बन्धमा देखिएको चिसोपन अन्त्यको लागि पहल गर्न आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ मधेसको समस्या राजनीतिक समस्या हो, त्यसैले यसको समाधान बार्ताबाटै हुनुपर्छ । सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौ । यो सार्थक र परिणाममुखी होस भन्ने हाम्रो अपेक्षा छ ।’
 
राजदुत रेले समाधानको फ्रेमवर्क बनिसकेकोले गंभिर संबाद भए समस्या छिट्टै समाधान हुने विश्वास ब्यक्त गर्दै समस्या धेरै ठूलो नभएकोले समाधान पनि गाह्रो नभएको तर्क गरे । उनले भने,‘ राजनीतिक समस्या बातचितबाट समाधान हुन्छ । तर सबै लचक भएर सम्झौता गर्नु पर्छ । बार्ता जारी छ, आशा गर्छाै । तुरुन्तै निर्णय आउँछ र नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्छ । तुरुन्तै समस्या समाधान होस । हाम्रो एउटै स्वार्थ छ, नेपालमा स्थायीत्व र विकास । ’
 
राजदुत रेले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दावी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफूहरु त्यसैमा अल्झिदा आफ्नो विकास क्रममा पनि असर पर्ने बताए । उनले भने,‘ हाम्रो एउटै स्वार्थ छ स्थायीत्व र विकास । भारत दोहोरो अकंको आर्थिक बृद्धिका साथ अघि बढ्न चाहन्छ । यसलाई प्राप्त गर्न यो क्षेत्रमै शान्ति र स्थायीत्व हुन जरुरी छ । अस्थिरता भए हामी पनि अल्मलिन्छौ त्यसैले हामी नेपालमा अस्थीरता चाहदैनौ । 
 
राजदुत रेले कसैले विगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतवीच रहेको भन्दै नजिक हुँदा कहिले काही चिसोपन आउनु स्वभाविक भएकोले त्यसलाई बातचित गरेर सुधार्ने बताए । उनले भने,‘म आशाबादी छु, यो अस्थायी समस्या हो । अब सम्बन्ध अझै प्रगाढ हुन्छ । त्यसको विकल्प छैन ।’
राजदुत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुई पटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रष्ट भएको बताउँदै भने,‘ हामी नेपाल भारत सम्बन्धलाई प्राथमिकता दिन्छौ । हामी दुई देशको साझा विकास चाहन्छौं ।’
 
उनले नेपाल र भारतवीच पीडीए र पीटिएसहितका महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वयनमा समस्या आउने गरेकोले सकारात्मक सन्देश जान नसकेको भन्दै अब सम्झौताहरु दुबै मुलुकका सरकारले कार्यान्वयनमा लिएर जानु पर्ने बताए । 
 
राजदुत रेले भने,‘ एउटा राम्रो प्रोजेक्ट कार्यान्वयन भए राम्रो सन्देश जान्छ । कमसे कम एक प्रोजेक्ट बास्तविकतमा बन्न पर्छ । यसले सम्बन्धलाई अझै राम्रो बनाउँछ । पञ्चेश्वर लामो समयपछि कार्यान्वयनमा गएको छ । अहिले म यसैमा लागेको छु ।’
उनले नेपाल र भारतवीचको अबको सम्बन्ध विकासको सम्बन्ध हुनु पर्ने धारणा राख्दै विकासमा राजनीति मिसाउँदा असर पर्ने बताए । उनले भने,‘विकासमा राजनीति गरे त्यो कार्यान्वयन हुँदैन ।’
 
राजदुत रेले नेपालमा भारत विरोध भावना बढेको विषयले पीडा भईरहेको भन्दै यो दुबै मुलुकको हितमा नरहेको स्पष्ट पारे ।उनले भने,‘नेपालको विकासमा भारतको सहयोगको आवश्यकता छ । यहाँ भारत विरोधी भावना बढे नेपालको हित हुँदैन । भारत विरोधी गतिविधी रोक्नु पर्छ । यसलाई हामी सिरियसली लिन्छौ ।’
राजदुत रेले यस विषयमा दुई देशवीच गंभिर बार्ता हुनु पर्ने भन्दै यसलाई कम गर्न तत्काल कुनै कदम चाल्नु पर्ने आवश्यकता औल्याए । 
 
उनले भने,‘ नेपालको आन्तरिक समस्या समधान भए सबै समाधान हुन्छ । नेपाल र भारतले यसलाई कसरी हेर्छन, त्यो एक अर्काले देख्नु पर्छ । यो विषयमा ट्रयाक वान र ट्रयाक टुबाट संबाद गर्ने बेला आईसकेको छ ।’
 
नेपालले ईन्धन लगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले भारतीय धारणा बारे राखेको जिज्ञासामा उनले नेपाल सार्वभौम मुलुक भएकोले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा सोधेको प्रश्नमा राजदुत रेले केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गर्दै भारतले नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गर्ने बताए । 
 
नेपाल भारत नाकामा सुरु भएको तस्करीप्रति लक्षित गर्दै राजदुत रेले तस्करी एक पटक सुरु भएपछि रोक्न गाह्रो हुने भन्दै नेपालको समस्या समाधान भए तुरुन्तै सामान्य अवस्थामा फर्किने विश्वास ब्यक्त गरे । उनले नेपालमा सामान्य अवस्थामा १६ देखि १७ सय ट्रकहरु भारतबाट प्रवेश गर्ने गरेकोमा अहिले ११ सयसम्म ट्रकहरु भित्रिरहेको जानकारी दिदै ईन्धन कति आउँछ भन्ने विषयमा आफूसँग तथ्याङक नभएको बताए । 
 
रिपोर्टर्स क्लबले अप्ठ्यारो बेलामा सबैलाई समेट्ने र सकारात्मक बातावरण बनाउने कार्य गर्दै आएको भन्दै नेपाल भारत सम्बन्धको विषयमा क्लबले लिएको चिन्ता र सम्बन्ध सुधार्न गरेको प्रयासको प्रसंसा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ