- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजकोट । आइपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई ‘लक’ लागेपछि सुपर ओभरमा विजयी भएको छ । आइपीएलको इतिहासमा सातौं पटक सुपर ओभरबाट निर्णायक भएको खेलमा मुम्बईले गुजरात लायन्सलाई उसकै मैदान राजकोटमा सुपर ओभरमा हराएको हो ।
खेलमा गुजरातले इशान किशानको सर्वाधिक ४८ रनको मद्धतले ९ विकेटको क्षतिमा १५३ रन बनायो । क्रुनाल पाण्डेयाले १४ रनमात्र खर्चेर ३ विकेट चट्काए । जसप्रित बुमराहले र लासिथ मालिंगाले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको मुम्बईले अलआउट हुँदै १५३ रन नै बनाउन सक्यो । पार्थिव पटेलले ७० तथा क्रुनाल पाण्डेयाले २० बलमा २९ रन बनाए ।
त्यसपछिको सुपर ओभर रोमाञ्चक भयो । मुम्बईले ११ रन बनाउँदा एक बल खेल्न बाँकी छँदै विकेट गुमायो । एक ओभरमा यो चुनौती गुजरातका लागि सामान्य थियो ।
तर बुमराहले यस्तो बलिङ गरे कि गुजरातले भेट्टाउनै सकेन । र मुम्बईले जित निकाल्यो । गुजरातले जम्मा ६ रनमात्र बनाउन सक्यो ।
यो खेलपछि लिगमा कोलकाता नाइट राइडर्स ९ खेलबाट १४ अंकसहित पहिलो स्थानमा कायमै छ । मुम्बई पनि १४ अंकसहित दोस्रो स्थानमा छ । सनराइजर्स हैदराबाद ११ अंकबाट तेस्रो स्थानमा छ ।
आइतबार दुई खेल हुँदैछन् । ४ः१५ बजे किंगस इलेभेन पंजाब र दिल्ली डेयर डेभिल्स तथा राति ८ः१५ बजे सनराइजर्स हैदराबाद र कोलकाता भिड्ने छन् ।
दिल्ली ४ अंकसहित पुछारमा छ भने पंजाबको ६ अंक छ ।