arrow

मुम्बई आइपीएल टी–२० को प्लेअफमा पुग्ने पहिलो टिम, बैंगलोर आउट

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
mumbai-bangalore.JPG

मुम्बई । मुम्बई इन्डियन्स भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।

जारी दशौं संस्करणमा निकै राम्रो खेलिरहेको मुम्बईले आफ्नो दशौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै प्लेअफमा ठाउँ बनाएको हो । चार खेल खेल्न बाँकी छँदै प्लेअफमा ठाउँ पक्का गर्ने क्रममा मुम्बईले बैंगलोरलाई ५ विकेटले हरायो ।

घरेलु मैदान मुम्बईमा सोमबार साँझ भएको खेलमा १६३ रनको विजयी लक्ष्य मुम्बईले १९।५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बई कप्तान रोहित शर्माले कप्तानी इनिङ्ग खेल्ने क्रममा ३७ बलमा नटआउट रहेर ५६ रन जोडे ।

जोस बटलरले २१ बलमा ३३ तथा नितिश रानाले २८ बलमा २७ रन बनाए । अलराउण्डर पवन नेगीले २ विकेट झारे ।

यसअघि बैंगलोरले ८ विकेटको नोक्सानीमा एक सय ६२ रन बनाएको थियो । एबीडे भिलियर्सले २७ बलमा ४३, पवन नेगीले २३ बलमा ३५ तथा केदार जाधवले २२ बलमा २८ रनको योगदान दिएका थिए ।

मिचेल म्याकक्लिघानले ३ विकेट झारे । त्यस्तै अर्को खेलमा राइजिङ पुने सुपर जाइन्ट विजयी भएको छ ।

पुनेले गुजरात लायन्सलाई ५ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको गुजरातले एक बल खेल्न बाँकी छँदै अलआउट भएर १६१ रन बनायो ।

ब्रेन्डम म्याककुलमले २७ बलमा ४५ तथा इशान किसानले २४ बलमा ३१ रन बनाएको इनिङमा पुनेका बलर हावी हुने क्रममा इमरान ताहिर र जादभ उनादकादले ३–३ विकेट लिए ।

जवाफमा पुनेले बेन स्टोक्सको सनसनीपूर्ण ६३ बलमा नटआउट १०३ रनको मद्धतले १ बल खेल्न बाँकी छँदै ५ विकेट गुमाएर विजयी पायो । यो खेलपछि मुम्बईको १० खेलबाट १६ अंक भएको छ ।

दोस्रो स्थानको कोलकाता नाइट राइडर्सको १४ तथा तेस्रो स्थानको सनराइजर्स हैदराबादको १३ अंक छ । त्यस्तै पुनेको १२ अंक छ ।

११ खेलबाट ५ अंकको बैंगलोर भने प्लेअफ पुग्ने होडबाट बाहिरिएको छ । अहिलेसम्म प्लेअफबाट बाहिरिने बैंगलोर पहिलो टिम बनेको छ ।



नयाँ