arrow

सन् २०१५ मा प्रेस स्वतन्त्रता उल्लङ्घनका १३६ घटना

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
broken-pen1.jpeg.jpeg
काठमाडौँ । सन् २०१५ अप्रिल २५ मा गएका भूकम्प र परकम्पका कारण एक हजार ८१३ पत्रकार र २६६ सञ्चारगृह प्रभावित भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । ‘गोरखापत्र’मा आबद्ध पत्रकार सुमन भोम्जनको काठमाडौँमा र ‘रेडियो प्लानेट’का कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने घाइते भएका नेपालगन्जबाट प्रकाशित दैनिक ‘नेपालगन्ज’को व्यवस्थापनमा आबद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भएको थियो । 
 
भूकम्पबाट १४ पत्रकार घाइते भएका थिए । त्यस्तै ३५ पत्रकारले नजिकको आफन्त गुमाए भने २० जनाका आफन्त घाइते भएको महासङ्घ अन्तर्गतको मिडिया अनुगमन एकाइको प्रतिवेदनले जनाएको छ । साथै एक हजार १५८ पत्रकारका घर पूर्ण रुपमा नष्ट भए भने धेरै पत्रकारको घरमा सामान्य क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा एक हजार ६१८ पत्रकार तथा सञ्चारगृह प्रभावित रहेको प्रतिवेदनमा उल्लेख छ । 
 
सन् २०१५ मा देशभर प्रेस स्वतन्त्रता उल्लङ्घनका १३६ घटना भए । तीमध्ये करिब ८५ प्रतिशत (११४ वटा) घटना पछिल्लो मधेस आन्दोलनका क्रममा मात्र भएका छन् । आन्दोलनका क्रममा आन्दोलनकारी र राज्य दुवै पक्षबाट पत्रकारमाथि आक्रमणका घटना ३३, दुव्र्यवहारका २५ र धम्कीका ११ घटना भएको महासङ्घको जिकिर छ । 
 
त्यस्तै चार सञ्चारगृहमा भौतिक आक्रमणका घटना भए । त्यसैगरी यस वर्ष पाँच पत्रकारमाथि मानसिक यातनाका घटना, १२ जनामाथि ज्यान लिने उद्देश्यले आक्रमण, १३ पत्रकारलाई आफ्नो पेसाबाट वञ्चित गरिएको तथा काममा बाधा र पत्रपत्रिका वितरणमा बाधाका २२ घटना भएको प्रतिवेदनले जनाएको छ । 
 
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले वर्ष २०१५ नेपाली सञ्चार क्षेत्रका लागि धेरै सन्दर्भमा दुःखद् र चुनौतीपूर्ण रहे पनि मिडिया जगत्ले त्यसको सामना गर्दै अघि बढेको तथा कतिपय महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको उल्लेख गर्नुभएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ