arrow

कडाखालको रोगमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार

रत्ननगर । चितवन मेडिकल कलेजले कडाखालको रोगमा विपन्न नागरिकका लागि रु एक लाखसम्मको छुट सुविधा दिन सुरु गरेको छ । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी उक्त सेवा सुरु गरेको कलेजका सञ्चालक डा दयाराम लम्सालले जानकारी दिए । 

उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा विपन्न भएको प्रमाणित भएपछि मात्रै यो सुविधा प्राप्त गर्न सकिनेछ । 

मुख्यगरी मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेडइन्जुरी, स्पाइनल इन्जुरी भएका बिरामीले सेवा पाउने छन् । 

यसका लागि अस्पतालको विपन्न नागरिक उपचार सम्पर्क केन्द्रमा पुगेर सेवा लिन सकिने कलेजले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयबाट घोषित कार्यक्रममा निःशुल्क आमा सुरक्षा कार्यक्रम, डाइलासिस सेवा, पाठेघरको शल्यक्रिया तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएकामा कलेजले यही महिनाबाट थप नयाँ सेवा थालेको हो । 

यही वैशाखबाट नयाँ कार्यक्रमका रुपमा विपन्न नागरिकको उपचार केन्द्र स्थापना गरी कडा रोगमा रु एक लाखसम्मको छुट सुविधासहितको सेवा सुरु गरेको डा लम्सालले जानकारी दिए । 

विसं २०६५ मा स्थापना भएको चितवन मेडिकल कलेजमा हाल ७५० शय्या छ । 

अहिले विभिन्न जिल्लाको रिफर सेन्टरको रुपमा कलेजले सेवा दिँदै आएको छ । 

यसैबीच कलेजले महिलाको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन शनिबार गरिएको निःशुल्क पाठेघरको परीक्षणमा ३२५ जनाले सेवा लिएको कलेजले जनाएको छ । यहाँ झन्डै एक दर्जन विशेषज्ञ सेवारत् छन् । 

चितवनमा दुई ठूला मेडिकल कलेज, सुविधायुक्त सरकारी अस्पताल र क्यान्सर अस्पताल छन् भने दुई दर्जन बढी अन्य निजी अस्पताल रहेकाले यो शहर मेडिकल सिटीका रुपमा विकास हुँदै गएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ