arrow

औषधी माफियाहरुलाई तह लगाउन मन्त्री थापा सरकारले नै औषधि बेच्ने प्रवन्ध मिलाउँदै

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
health-ministry.jpeg

काठमाडौं । औषधिमा व्यापारीहरुले सयौं गुणा नाफा लिएर माफियाकरण गरिएको भेटिएपछि सरकारले औषधि आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधिहरु सरकारले सीधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधि बेच्दा ५० प्रतिशतसम्म सस्तो पर्न सक्ने देखिएको हो। 

सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधिहरुमा स्वदेशी उद्योगकै औषधि प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए । 

उनले स्वदेशी औषधिहरुलाई प्राथमिकता दिँदा औषधिको मुल्य सस्तो हुनु पर्ने, पर्याप्त गुणस्तरको हुनु पर्ने र नेपाली उद्योगहरुको सिन्डीकेट तथा एकाधिकार हुन नदिने तर्फ पनि मन्त्रालय सचेत रहेको बताए । 

अहिलेसम्म स्वदेशी कतिपय औषधिहरु विदेशी भन्दा महंगो हुने गरेकोमा सवैतिर स्वदेशी नै प्रयोग गर्न थालेपछि खपत बढेर स्वदेशीपनि सस्तो हुने मन्त्रालयको विश्वास छ । सुझाव समितिले नेपाली बजारमा बिक्री हुँदै आएका औषधिहरु २२ सय प्रतिशतसम्म बढी मुल्य राखेर विक्रि गर्ने गरेको पत्ता लगाएको छ । 

क्यान्सर, मिर्गौला लगायत कडा रोगका औषधिहरु उच्च मूल्यमा बेच्ने गरेको समितिले जनाएको छ । समितिले औषधिको मनलाग्दी मूल्य लिएको फेला पारेपछि स्वास्थ्य मन्त्री थापाको प्रस्ताव अनुसार औषधिको मूल्य निर्धारण गनै र सुपथ मुल्यमा सरकारले खरिद बिक्रिबितरण गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिध रहने उच्च स्तरीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्ले सोमबार गठन गरेको समितिले औषधिको मुल्य घटाउन र औषधिको विक्रिवितरणमा रहेका विकृति हटाउन सहयोग पुग्ने मन्त्री थापाले विश्वास व्यक्त गरे । समितिले कसरी उपभोक्तालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउन सकिन्छ भन्ने सुझाव सरकारलाई पेश गर्ने उनले बताए । साथै, नागरिकलाई आवश्यक पर्ने महँगा औषधिलाई सरकारले सस्तोदरमा अन्तर्राष्ट्रिय बजारबाट सोझै खरिद गरी अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका विषयमा पनि सुझाव दिने समितिको कार्यक्षेत्र तोकिएको छ ।

नेपाल सरकारको कुनै निकाय मार्फत अन्तर्राष्ट्रिय उत्पादकसँग सुपथ मूल्यमा सोझै औषधि खरिद गर्ने मन्त्रालयको योजना छ । मन्त्री थापाले मन्त्रिपरिषदमा लगेको प्रस्तावमा भनिएको छ, “आमनागरिकलाई अत्यावश्यक महँगा औषधिहरु सबै सरकारी अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्न सक्ने व्यवस्थाका लागि उच्चस्तरीय अध्ययन तथा सुझाव समिति बनाउन अनुरोध गर्दछु ।”

नेपालमा आधुनिक औषधिको उत्पादन निजिस्तरमा केमि ड्रग प्रा.लि.को बि. सं. २०२६ सालमा स्थापना सँगसँगै शुरु भएको हो भने बि.सं.२०२९ सालमा नेपाल औषधि लिमिटेडको स्थापना भई औषधि उत्पादन कार्यमा सुरु गरिएको थियो । 

नेपालमा अहिले ४९ वटा आधुनिक मानवका औषधि उद्योग, ८ वटा पशुपंक्षी औषधि उद्योग र ७३ वटा आयुर्वेदिक औषधि उद्योग संचालनमा छन् । आयाततर्फ २९४ आधुनिक मानवका औषधि उद्योग, १३ बटा पशुपंक्षी औषधि उद्योग र ३४ वटा आयुर्वेेदिक औषधि उद्योग दर्ता रहेका छन् । गत आ. ब. २०७२÷७३ को औषधि उत्पादन र आयातको तथ्याङ्क हेर्दा नेपाली उत्पादनको बजार हिस्सा ४६%, भारतीय उत्पादनको ५२% र अन्य मुलुकको २% रहेको प्रतिवेदनमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ