arrow

अस्थायी साधनको प्रयोग किन घट्यो?

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
condom.jpg.jpeg
गोपाल पोखरेल, उदयपुर। पछिल्लो समय जिल्लामा परिवार नियोजनका अस्थायी साधनको प्रयोग घट्दै गएको छ । गर्भपतनका औषधीको प्रयोग बढ्दै गएपछि परिवार नियोजनका साधनको प्रयोग घटेको हो। 
 
गर्भपतनका औषधीको जथाभावी प्रयोगले पर्ने अप्ठ्यारोको जानकारी नहुँदा महिला जोखिममा समेत परेका छन्। जथाभावी प्रयोगले स्वास्थ्यमा पार्ने असरको ज्ञान नहुँदा महिलामा समस्या हुने गरेको छ। पछिल्लो पटक जिल्लाको खाँबु गाविस ८ नम्वर वडामा एउटी महिला र ५ , ७ र ९ नम्वर वडामा १/१ पुरुषले मात्रै अस्थायी साधनको प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ। सो गाविसका ९ ओटै वडामा कूल १ सय ६ महिला र १२ पुरुष गरी जम्मा १ सय १८ ले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने गरेका छन्।  जिविस उदयपुरले प्रकाशन गरेको खाबु गाविसको बालबालिका सम्वन्धि बस्तुगत विवरण(प्रोफाइल)’मा ८ नम्वर बडामा एउटी महिलाले मात्रै अस्थायी साधन प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ। 
 
गाविसमा ४ हजार ९ सय ३१ जनसंख्या मध्ये १९ बर्षमाथीका १ हजार ३ सय ३३ महिला र २ हजार ४ सय ५२ पुरुष छन्। १९ बर्षमाथिका जनसंख्यामात्रै हेर्दापनि १ सय १८ ले मात्रै अस्थायी साधन प्रयोग गर्नु भनेको प्रयोगकर्ताको संख्या घट्दै जानु नै रहेको जनस्वास्थ्य अधिकारी वताउँछन्। अस्थायी साधनको प्रयोगप्रतिको सोचमा आएको परिवर्तनले असर पारिरहेको अधिकारीहरुको दावी छ।   
 
खाँबु गाविसमात्रै होइन, लाफागाउँ, बासबोटे, बर्रे, इनामे, बारा, ताम्लिछा लगायतका पहाडि क्षेत्रका दजनौं गाविसमा अस्थायी साधनको प्रयोग गर्नेको संख्या बर्षेनी घट्दै गएको छ। घट्दै जानुमा गर्भपतनका औषधीको प्रयोग कारण मानिएको छ। ग्रामिण क्षेत्रमा स्वास्थ्य शिक्षाको पहुँच नहुनु र जथाभावी गर्भपतनका औषधीको प्रयोग गरिनुले अस्थायी साधन प्रयोग गर्नेको संख्या घटेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 
 
बैदेशिक रोजगारीले पनि अस्थायी साधनको प्रयोग घट्दै गएको बिज्ञ वताउँछन्। खाँबु गाविसबाट २ सय ८६ बैदेशिक रोजगारमा गएका छन्। जसमा महिलाको संख्या ७ मात्रै छ । त्यसैले पुरुष विदेश गएपछि अस्थायी साधन प्रयोगपनि घटेको स्वास्थ्यकर्मी वताउँछन्।
 
“अस्थायी साधनको प्रयोग अत्यन्तै घटेको छ”बरिष्ठ जनस्वास्थ्य अधिकृत रामबिलास यादवले भने, “घटनुको कारण गर्भपतन औषधीको अनाधिकृत प्रयोग, बैदेशिक रोजगार र गर्भ निरोधको प्राकृतिक पद्धतिको प्रयोग हो भन्ने हाम्रो अनुमान छ।” तर घटेको देखिनुको अर्को कारण निजी स्वास्थ्य संस्था र गैरसरकारी संस्थाले वितरण गर्ने अस्थायी साधन प्रयोग गर्नेको बारेमा स्वास्थ्य कार्यालयलाई तथ्यांक नदिनु अर्को कारण रहेको उनले वताए। 
 
बैदेशिक रोजगार, गर्भपतनका औषधी, चेतनामा कमी, साधनको सयममै उपलव्धता नहुनु जस्ता कारण भएपनि घटनुको कारण पत्तालगाउन अध्ययन नै गर्नु पर्ने आवश्यक देखिएको छ। अस्थायी साधनको प्रयोग कम हुदै गएपछि जनसंख्या दर बढेको छ कि छैन ? बढेको भए त्यसपछि पार्ने असर र भविष्यमा अपनाउनु पर्ने रणनीतिकालागि अध्ययन आवश्यक रहेको त्रियुगा उच्च माविमा जनसंख्या बिषय अध्यापन गराइरहेका शिक्षक विदुर खड्का बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ