arrow

मधेसी मोर्चासँग भोलि निर्णायक वार्ता हुने– अध्यक्ष दाहाल

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
prachanda1.jpg.jpeg
विराटनगर । एकीकृत नेकपा (माओवादीं)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँग भोलि समझदारी हुने प्रवल सम्भावना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शुक्रबार मोर्चासँग औपचारिक, अनौपचारिक वार्ता भएको र बेलुकी महन्थ ठाकुरसँग पनि यस विषयमा छलफल भएको जानकारी गराए । 

नेपाली काँग्रेस, नेकपा(एमाले) र मधेसी मोर्चाबीच भोलि हुने वार्ताको विषय र प्राप्त निष्कर्षमा आफ्नो पार्टीको सहमति रहेको उल्लेख गर्दै उनले संशोधन प्रस्तावमा समझदारी बन्दै गइरहेको र वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा प्रचलित कानुन वा जे राखे पनि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारे । 

उनले सीमाङ्कनको विषय जटिल भएकाले यसलाई राजनीतिक वा संसदीय समिति बनाएर तीन महिनाभित्रमा सहमति गर्ने विषयमा मधेसी मोर्चालाई लचिलो हुन आग्रह गरे ।  चार महिनादेखि मुलुकको जनजीवन कष्टकर बनेको भन्दै अध्यक्ष दाहालले भूकम्पपीडित जाडोमा विलाप गरिरहेकाले यस समस्यालाई यथाशीघ्र समाधानका लागि मधेसी मोर्चालाई समस्या समाधानका लागि अग्रसर हुन आह्वान गरे । 

मधेसी मोर्चाको तर्फबाट नयाँ माग आइरहेको भन्दै उनले यस्ता मागका कारण बन्दै गइरहेको समझदारी बिग्रने सम्भावना सिर्जना हुन सक्ने विषयमा चिन्ता व्यक्त गरे ।  भारतले आपूmलाई संविधानमा हिन्दू राष्ट्र उल्लेख गर्र्नुपर्छ वा धर्मनिरपेक्ष राख्नुहुन्न भन्ने विषयमा कहिले पनि सुझाव नदिएको स्पष्ट पार्दै उनले धार्मिक स्वतन्त्रताका साथै प्रलोभनमा पारेर धर्म परिवर्तन रोक्ने सम्बन्धमा सुझाव प्राप्त भएको जानकारी गराए । 

सरकारबाट मन्त्रीहरु फिर्ता गराउने हल्ला गलत रहेको भन्दै उनले भोलि पार्टीको बैठकमा सरकारको कामकाज र मन्त्रीहरुका बारेमा चर्चा हुने बताए ।  सुनसरीको इटहरीमा शनिवार हुने कार्यक्रममा सहभागी हुन उनीसहित पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ