यादव आचार्य, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा वासोवास गर्ने उपभोक्ताहरुलाई खर काट्न निकुञ्ज खुला गरिएको छ ।उपभोक्ता हरुलाई विभिन्न प्रयोजनका लागि खर, खरिया, बावियो, नर्कट लगायतका अत्यावस्यक प्राकृतिक श्रोतहरु उपभोगका लागि सःशुल्क अनुमति दिईएको हो ।
निकुञ्जले संरक्षण शुल्क, राजश्व र मुल्य अभिबृद्धि कर सहित ४० रुपैया मुल्य सहित विभिन्न नाका मार्फत खर काट्ने अनुमति दिएको छ । बबई नदी देखि पूर्वी क्षेत्रमा आज देखि ३ दिन सम्म र बबई नदी देखि पश्चिमी क्षेत्रमा पुष २२ गते देखि २४ गते सम्म दुई चरणमा खर काट्ने अनुमती दिईएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले वताए ।
उपभोक्ताका घर छाउने, डोरी वनाउने, बार लगाउने लगायतका काममा प्रयोग गरिने खर खरिया दुई चरण गरी ३० हजार उपभोक्ताले काट्ने अनुमान निकुञ्जको छ । निकुञ्ज भित्रको खर काट्ने कार्यलाई व्यवस्थित पार्न र निकुञ्ज भित्र हुन सक्ने सम्भावित गैरकानूनी गतिविधि नियन्त्रण गर्न नेपाली सेना, निकुञ्जका कर्मचारी, चोरिशिकार नियन्त्रण युवा परिचालन अभियानका युवाहरु लगायत समूह समितिहरु समेत परिचालन गरिएको जनाईएको छ ।