arrow

कागबेनीको वायु ऊर्जा २५ वर्षदेखि अलपत्र

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
wind.jpg.jpeg
मुस्ताङ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने विकल्पमध्ये वायु ऊर्जा पनि एक विकल्प बन्न सक्ने बताइरहेका बेला हिमाली जिल्ला मुस्ताङको कागबेनीमा २५ वर्षअघि निर्माण गरिएको देशकै पहिलो वायु ऊर्जा आयोजना भने अलपत्र बनेको छ । दक्ष प्राविधिक जनशक्ति अभाव हुँदा आयोजनाको सञ्चालन केही समयदेखि बन्द अवस्थामा छ । आयोजनाको अहिले केही अवशेषहरु मात्रै बाँकी रहेको स्थानीयवासीले बताएका छन् । 
 
आफ्नो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन भरपर्दो नभएको भन्दै कागबेनीवासीले तत्काल आयोजनाको थप सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न माग गरे पनि त्यससम्बन्धी अहिलेसम्म कुनै काम अघि बढ्न सकेको छैन । सम्बन्धित निकायको बेवास्ताका कारण लामो समयदेखि आयोजना बन्द भएको कागबेनीका पूर्व गाविसका अध्यक्ष नोर्बु गुरुङले जानकारी दिनुभयो । तीव्र गतिमा बहने हावालाई प्रविधिको सहयोगमा विद्युत् उत्पादन गर्ने आयोजना मुस्ताङमा प्रभावकारी भए पनि त्यसको थप अनुसन्धान र सम्भाव्यता अध्ययन हुन सकेको छैन । आयोजनामा विद्युत् उत्पादनका लागि निर्माण गरिएको भवन अहिले जीर्ण बनेको छ । ट्रान्समिटर र ब्याट्री एउटा कोठामा थन्काइएको छ । भवन बाहिर घुम्ने पङ्खा अलपत्र अवस्थामा रहेको छ । 
 
मुस्ताङमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तीव्र गतिमा हावा चल्छ । विद्युत् उत्पादनको सफल परीक्षणपछि स्थानीय ६० घरले तीन महिनासम्म उपभोग गरेको कागबेनीका स्थानीयवासी फुर्वा गुरुङले जानकारी दिनुभयो । देशमा चर्को विद्युत्भार कटौतीको समस्या भइरहेको अवस्थामा वायु ऊर्जालाई प्रयोगमा ल्याउन सके ऊर्जा सङकट न्यूनीकरण गर्न सक्ने सम्भावना भए पनि त्यसतर्फ कसैले ध्यान दिन सकेको छैन । “कागबेनीमा नयाँ प्रयोग भयो भनेर संसारभर चर्चा भए पनि त्यसले निरन्तरता पाउन सकेन, विभिन्न देशका नागरिकले पनि अहिले हामीलाई प्रश्न गर्छन्”, गुरुङले भन्नुभयो – “त्यसलाई प्रयोगमा ल्याउन जरुरी छ, अहिलेको सरकारको यसमा ध्यान जानुपर्‍यो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ