काठमाडौं । नेपाल सद्भावना पार्टीको अध्यक्ष राजेन्द्र महतो नयाँदिल्लीको मेदान्त अस्पतालमा उपचार गराईरहँदा उनको पार्टीले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ । महतोद्वारा नै हस्ताक्षर गरिएको विज्ञप्तिमा पुस १९ देखि २७ गतेसम्मको आन्दोलन गर्ने जनाइएको छ ।
राजधानीमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका महासचिव मनिष सुमनले मोर्चाको आन्दोलनमा आफुहरुको सहभागिता रहे पनि यो कार्यक्रम भने आफ्नो छुट्टै रहेको बताए । उनले पार्टीका अध्यक्ष महतो दिल्लीमा उपचार गर्न जानु अघि नै विज्ञप्तिमा हस्ताक्षर गरेर गएको दाबी गरे ।
आन्दोलनको सूची अनुसार १९ गते धार्मिक वा सार्वजनिक स्थलमा प्रार्थना सभा गर्ने, २० गते एक घन्टा मौन व्रत, २१ गते भित्ते लेखन, २२ गते साइकलदेखि ठेलासम्ममा कालो झण्डा राख्ने र हातमा कालो पट्टी बाँध्ने र २३ गते शहिदको सम्झनामा मैनवत्ती बाल्ने कार्यक्रम छ ।
त्यस्तै २४ गते भारतसहित विश्वभर रहेका आफन्तलाई मधेस आन्दोलनबारे इमेल, फेसबुक म्यासेजमार्फत जानकारी दिने, २५ गते अन्य दलका सांसदलाई पार्टी छाडेर आउन दबाव दिन हस्ताक्षर संकलन गर्ने, २७ गते मधेस आन्दोलन १५० दिन पुगेको दिन एक दिन उपवास बस्ने कार्यक्रम सद्भावनाले तय गरेको छ ।