arrow

इन्जिनियरलाई साथमा लिएर अघि बढाउँछु : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
oli.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएकाले देशलाई अब एकताबद्ध भएर अघि बढाइने दृढता व्यक्त गर्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन ललितपुरमा आयोजित भूकम्पपछि ग्रामीण आवास निर्माणका लागि तयार गरिएको प्रतियोगितात्मक ‘नमुना घरको नक्सा प्रदर्शनी’ का विजयीलाई पुरस्कार प्रदान गर्दै उहाँले भन्नुभयो– “हामी यस देशलाई यस्तै अवस्थामा अब लामो समय रहन दिन सक्दैनौँ, एकताबद्ध भएर अघि बढाउछौँ ।” 
 
सम्पूर्ण जनताले अब अधिकार, अवसर, सुरक्षा र सम्मान प्राप्त गर्ने र कुनै भेदभाव नहुने बताउँदै प्रधानमन्त्री ओलीले भूकम्पबाट प्रभावित क्षेत्र अहिले सरकारको प्राथमिकतामा भएकाले त्यहाँका जनतामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । भूकम्पछिको पुनःनिर्माण र नवनिर्माणमा इन्जिनियरको सर्वाधिक काम हुने भएकाले इन्जिनियरलाई साथमा लिएर दु्रतगतिमा काम गरिनेछ उहाँले भन्नुभयो । 
 
परामर्शदाताको नाममा विदेशीलाई गुहार्ने प्रवृत्तिलाई अन्त्य गरेर स्वदेशी विज्ञलाई नै जिम्मेवारी दिनेमा सरकार दृढ रहेको रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– “हाम्रो आत्मविश्वास मर्न हुँदैन, जुन देशको जनता निराश हुन्छ सबैभन्दा दुर्भाग्य त्यहाँ निम्तिन्छ, त्यसैले आत्मविश्वास र आशावादीका साथ अघि बढ्न सबैसँग आग्रह गर्दछु ।” नेपाल विज्ञान तथा प्रविधि (नाष्ट)का उपकुलपति प्रा डा जीवराज पोखरेलले ग्रामीण आवासका लागि तयार गरेर प्रतियोगितामा प्रतिस्पर्धामा राखिएकामध्ये सवल, सुविधाजनक र सुन्दरतालाई आधार मानेर विजयीको छनौट गरिएको जानकारी दिनुभयो । 
 
आयोजक संस्था नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ध्रुवराज थापाले स्थानीय स्रोत साधन, परम्परा, संस्कृति र मौलिकताको पक्षलाई ध्यान दिएर सस्तो मूल्यमा कसरी घरलगायतका भौतिक संरचना निर्माण गर्न सकिन्छ भन्ने पक्षलाई हेक्का गरेर नमुना घर र नक्सा तयार गरिएको बताउनुभयो । महासचिव किशोरकुमार झाले एसोसियसनका सदस्यका रुपमा मुलुकमा हाल १७ हजारको सङ्ख्यामा इन्जिनियर रहेकामा वैशाखमा गएको भूकम्पलगत्तै तीन तीन हजार ५०० इन्जिनियरबाट स्वयम्सेवा प्रदान गरिएको जानकारी दिनुभयो । 
 
एसोसियसनका तर्फबाट ७५० जना इन्जिनियरलाई भत्किएको घर पुनःनिर्माणका लागि प्रशिक्षित गराइएको तथा जनतासँग इन्जिनियर नारासहित भूकम्प प्रभावित क्षेत्रका ६५ हजार घरको परीक्षण गरेर बस्ने हुने वा नहुने भनी प्रमाणित गर्ने काम भएको जानकारी दिइयो । प्रतियोगितात्मक प्रर्दशनीका लागि २५० वटा आवेदन परेकामा ६० वटा भूकम्प प्रतिरोधात्मक नमुना घरका नक्सालाई छनोट गरिएकामा त्यसमध्ये १४ वटा इन्जिनियर अध्ययन गरिरहेका छात्रछात्राको तथा ४६ वटा विज्ञहरुको रहेको सो अवसरमा जानकारी दिइयो । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पुरस्कारका लागि रु १७ लाख रकम उपलब्ध गराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ