arrow

‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
malhampati.jpg

काठमाडौँ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गत वर्षको ‘उत्तम शान्ति पुरस्कार’ लेखक रवीन्द्र समिरलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमद्वारा नेपाली साहित्यमा दिएको योगदानबापत उहाँको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई प्रदान गरेको छ ।

गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गुठीका संरक्षिका अनामिका सिंह र सदस्य सचिव ठाकुरप्रसाद पराजुलीले ताम्रपत्रका साथ रु ५० हजार राशिको सो पुरस्कार प्रदान गरे । यो पुरस्कार आख्यानमुक्त कृति निबन्ध, अन्तर्वार्ता, संस्मरण, नियात्रा आदिलाई प्रदान गरिन्छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि जनस्वास्थ्यविज्ञ डा रवीन्द्र पाण्डेले छ दर्जन भूकम्पका भग्नावशेषमा पुगी त्यहाँका भूकम्पपीडितकहाँ पुगी स्वास्थोपचार, मनोपरामर्श र राहत प्रदान गर्नुभएको थियो । कृतिमा लेखकको अनुभव, भोगाइ, व्यवहार र दृष्टिकोणको संश्लेषण पाइन्छ । डा पाण्डे साहित्यमा रवीन्द्र समिरका रुपमा चिनिनुहुन्छ ।

कार्यक्रममा गुठीका सदस्य सचिव प्रा ठाकुरप्रसाद पराजुलीले अन्तर्राष्ट्रिय साहित्यको पनि अध्ययन गरी नेपाली साहित्यलाई नयाँ दिशा दिन उत्तम कुँवर र उनकी धर्मपत्नी शान्ताले ‘रुपरेखा’ साहित्यिक पत्रिका प्रकाशन र सम्पादन गरेको बताउँदै कुँवर स्वयंले अन्तर्वार्ता, लेख, संस्मरणमार्फत नेपाली साहित्यमा योगदान दिएको बताए ।

समालोचक प्रा महादेव अवस्थीले समाज, राष्ट्र, विश्व र ज्ञानविज्ञानबाट शिक्षा प्राप्त गरी लेखकले पेसागत कर्तव्य र निष्काम मानवतावादी चेतनाबाट जागृत भई कृतिमा तत्कालीन समयको कोलाहल, ध्वंस र विपत्तिलाई मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेको बताए ।

आफूले लेखेका ११ कृतिमा सबैभन्दा सन्तुष्टि र असन्तुष्टि पछिल्लो कृतिले नै दिएको लेखक समिरले बताए । चार महिना लेखन र चार महिना पुनःलेखनमा खर्चेर लेखिएको सो कृति फाइन प्रिन्टले प्रकाशन गरेको हो । उनका आठ लघुकथासङ्ग्रह, एक मुक्तक सङ्ग्रह, एक नियात्रा पहिले नै प्रकाशन भइसकेको छ । उनले आफूले प्राप्त गरेको पुरस्कार राशिमा ५० हजार थपी भूकम्पपीडितका बालबालिका शिक्षा र स्वास्थका लागि प्रदान गरिने घोषणा पनि गरे ।

‘रुपरेखा’ साहित्यिक पत्रिकाका सम्पादक उत्तम कुँवरको सम्झनामा हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आएको छ । कुँवरका ‘स्रष्टा र साहित्य’(मदन पुरस्कार) ‘अनुभव र अनुभूति’ कृतिलगायत लेखरचना र निबन्ध पनि प्रकाशित छन् । विसं २०१०तिरदेखि प्रकाशित ‘रुपरेखा’ कुँवरको ४३ वर्षका उमेरमा निधनपछि पत्नी शान्ति (हाल दिवङ्गत)को प्रकाशन तथा नयनराज पाण्डेको सम्पादनमा २०४५ सम्म प्रकाशन भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ