- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन् ।
चुनावका बेला यो सम्बन्धको चर्चा किन पनि भएन भने मञ्जुले उपमेयरको टिकट राष्ट्रपतिकी मितिनी भएकैले पाएकी होइनन् ।
एमालेले पार्टीभित्र गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस भएकी थिइन् ।
राष्ट्रपतिसँग मञ्जुले उनकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म पनि गरेकी छैनन् ।
आफूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आआफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउँछिन् । कसरी गाँसिएको थियो त उनीहरुको साइनो ?
कुरा ०५९ सालको हो । एमाले पोखरा नगर कमिटिको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् ।
पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवै जनाबीच सैनी साइनो जोडिदिने सोचे ।
नगर कमिटि इञ्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर साइनो जोडियो ।
‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको , मेरो ज्वाइँको पनि दुर्घटनामा,’ मानबहादुरले भने, ‘दुईटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखेँ ।’
मितिनी छोरी राष्ट्रपति र आफ्नी छोरी उपमेयर हुँदा निकै खुसी मिलेको उनले बताए । (अन्नपूर्ण पोष्ट दैनिक)