arrow

आदिकवि भानुभक्तका नाममा विश्वविद्यालय बनाउने तयारी

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
BHANUBHAKTA-ACHARYA.jpg.jpeg
 
काठमाडौँ। आदिकवि भानुभक्त आचार्यको नाममा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले धार्मिक तथा शैक्षिक महोत्सव हुने भएको छ । तनहुँको दमौलीमा आगामी माघ ५ गतेदेखि १२ गतेसम्म महोत्सवमा हुने महायज्ञबाट उठेको सम्पूर्ण रकम विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि खर्च गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
 
व्यास नगरपालिकामा रहेको सामुदायिक शैक्षिक संस्था ‘आदिकवि भानुभक्त क्याम्पस’लाई विश्वविद्यालय बनाउन सम्बन्धित निकायबाट मापदण्ड पूरा भइसकेको छ । यसका लागि विश्वविद्यालय अनुदान आयोग (युजिसी) नेपालद्वारा गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त भएको सो अवसरमा जानकारी गराइयो । 
 
विसं २०४४ मा स्थापना भएर हाल स्नातकसम्म अध्ययन भइरहेको उक्त क्याम्पसलाई विश्वविद्यालयको रुप दिन महायज्ञबाट मात्र रु पाँच करोड बराबरको सहयोग रकम सङ्कलन गर्ने आयोजकको दाबी छ । साथै अनुदान आयोगले रु चार करोड बराबरको सहयोगको तयारी गरेको उनीहरुको भनाइ छ । 
 
पत्रकार सम्मेलनमा ‘विश्वविद्यालय अभियान’का निर्देशक वैकुण्ठ न्यौपानेले तनहुँ जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अन्य आङ्गिक क्याम्पस नभएको तथा सङ्घीयतापछि राज्य पुनःस्थापना हुँदा पनि उक्त स्थान ४ नं क्षेत्रकै केन्द्र पर्ने भएकाले विश्वविद्यालय निर्माण जरुरी रहेको बताउनुभयो । 
 
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले व्यास ऋषि, आदिकवि भानुभक्तको जन्मभूमि तथा परासर, श्रृङ्गजस्ता ऋषिमुनिको तपोभूमि तनहुँ जिल्लालाई महत्वपूर्ण शैक्षिक केन्द्रका रुपमा विकास गर्न चाहेको बताउनुभयो । 
 
समितिका पूर्वअध्यक्ष शान्तिरमण वाग्लेले आदिकवि भानुभक्त क्याम्पसलाई विज्ञान र प्रविधिसहितको मानक विश्वविद्यालय बनाउने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ