राष्ट्रपतिको कालो चस्मा र प्रधानमन्त्रीको दौराको फेरोमा अड्किएको मेरो गणतन्त्र
बद्री भट्टराई,
प्रकाशित २०७४ जेठ १५ सोमबार
849
Shares
सधै जसो जेष्ठ १५ को विहान पनि दशरथ रंगशाला पुग्ने योजनाका साथ स्कुटरबाट रंगशालाको यात्रा तय भयो । शनिबार पनि होइन किन आज सडक खाली छ, अलि चाँडै पो आइएछ कि कसो सोच्दासोच्दै रंगशाल पुगियो ।
रंगशालमा पुग्ने वितिकै स्रष्ट्राहरुको मुहार देखिन्छ, कुनै उत्साह छैन , कुनै उमंग छैन ,तैपनि पसिना बगाइरहेका हुन्छन। सन्तुष्टिका वाक्यहरु दोहोराउँछन केहि होला कुनै दिन त यस्तै कुराकानीमा दैनिक झै आफ्नो कसरत व्यायम सिद्धिन्छ । शुभ दिनको कामना भन्दै दशरथ रंगशालालाई एक पकट दर्शन गर्यो अनि हिड्यो ।
आज किन सडक खाली भन्ने विहान ६ बजेको जवाफ फर्केने बेलामा ९ बजे रंगशालाबाट दरबार मार्ग सम्मको यात्राले पुष्टि गरिदियो । आज जेष्ठ १५ गते गणतन्त्र दिवस अनि पो सडक खाली भएको रहेछ । सार्वजैनिक विदा पनि त हो नि , धत् आफैले आफैलाई गाली पनि गरियो ।
सैनिक मञ्च टुडिखेल अगाडी पुग्नु भन्दा अगाडी गणतन्त्र दिवशलाई सम्झदै सहिद गेटलाई हेँरे, एक्लै टाढाबाट देशका महामहिमहरुलाई नियाली रहेको थियो । खाली पानीका बोटल, अनि फोहरका विचमा बसेर सहिद गेटका ढुङ्गाहरु एकले अर्कोलाई जिस्काइरहेको जस्तो देखिन्थ्यो । सहिद गेट बडो निसास्दै हेर्न खोज्दै थियो आज के हुदैछ छिमेकीको मैदानमा , कहि कतै आज देशका मुर्धन्य योद्धाहरुलाई मर्नु भन्दा अगाडी नै सम्मान दिन त खोजिएको हौइन। ओहो यस्तो भइदिए, कम्तिमा वर्षको एक दिनमा हुने भिडहरु त कम हुन्थ्यो ।
सैनिक मञ्च अगाडीका सडकहरुमा लट्ठी लिएर बसेका प्रहरी जवानहरुको लाइन , सधैजसो उखरमाउलो घाम अनि धुलोँमा सिट्ठि बजाईरहेका ट्राफिक, उहि जाम, सैनिक मञ्च वरपरका पसलहरुमा उहि हिजो झै ग्राहकको पर्खाइ। भरियाको उहि भारी बोकाई, बोलाहको उहि दृष्यहरु हेर्ने अवसर मिलेको थियो । सोच्दा सोच्दै, पुरै हावाहुरी आए झै सेता मोटरसाइकलमा सवार सारथीहरु, रातो बत्ति बालेका मोटरहरु, अघि पछि काला चस्मा र दौरा सुरुवाल लगाएका हेर्दै देशका ठुला देखिने मानिसका मंहगा गाडीहरु एक एक गर्दै मञ्च तर्फ जादै थिए ।
सैनिक मञ्चका वरपर करिब १ देखी २ हजार सम्मका दर्शकहरु कुनै राहत प्याकेज आउने आशमा झै पर्खिरहेका थिए । कुनै उत्साहमा होइन । हिजो रत्नपार्कमा बस्ने , आज सैनिकमञ्च अगाडी फरक यति मात्र हो जस्तो लाग्यो । ए साच्चै आज त गणतन्त्र दिवस पो हो त। अनि केहि समय अगाडीको लर्को त राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिस लगायतको जथ्था पो थियो । २०६५ जेष्ठ १५ गते एउटा ठुलै उत्साह थियो मानौ कुनै एउटा सानो राज्य अव सार्वभौम भएजस्तै , ९ वर्ष पछि आएको गणतन्त्रमा खै कसको लगाव सोच्दै आँए। के उनै नेताहरुको मात्र, मन्त्रीहरुको मात्र उहि कुटनैतिक निकाएको मात्र यसकै लागि हो गणतन्त्र ?
कल्पना गर्दा गर्दै माओवादी द्धन्द्ध पिडितहरुको सम्झनाले प्रश्नहरु गर्न थाले, राज्यको दमनका प्रश्नहरु मनमा आए काठमाडौं लगायत देशभरका युवाहरु युद्धको मोर्चा सडकमा ढलेको चिच्याएको , कराएको ऐए्या, आमा, मरे आमा, निरंकश राजतन्त्र मुर्दावाद , सिंहदरवार खाली गर जनताको छोरो आउदैछ , ले ले जनता .ले ज्ञानेन्द्र लाई .....दे यो आवाजहरु कानमा कर्कश लाग्ने गरेर गुञ्जन थाले। लाठी अश्रुग्यास, बुट , रबरका गोली भागदौड आक्रोसका तस्विरहरु धमाधम आँखा अगाडी नाच्न थाले, ओहो त्यो हो गणतन्त्र ?
सहिद गेट धुरुधुरु रुनु पर्ने, सैनिक मञ्चमा उहि अनुहारहरु दुरविन लगाएर नाटक हेर्ने , अनि सडकमा आमा भन्दै ढलेका, गलेका गणतन्त्रका नाममा अशक्त भएर बाँच्नु परेका नागरिकहरु भने आफैले आफैलाई धिक्कार गरेर बस्नुपर्ने ? के त्यो वर्गको, त्यो सम्प्रदायको , त्यो जमातको जिउँदो वर्तमानहरुलाई त्यो समारोहमा समाहित गर्नु पर्ने होइन ?
आफैलाई प्रश्नगदै घरआइपुँगे । ९ वर्षमा एउटा साधारण जनताले गणतन्त्रको आभास गर्न पाएको अनुभुति भएन । रंगशालामा देशका लागि पदक जिताउने योद्धाहरु पानीका अभावमा राष्ट्र सम्झदै पसिना बगाउदै थिय । एउटा गरिब मजदुर उहि भारी बोकेर पसिना पुच्दै रु १०० का लागि लडाइ लडिरहेको थियो । बौद्धिक जमात फेशबुक र टिविटमा आफ्ना वाक्याशंहरु पोखिरहेका थिय । सञ्चार माध्यमले राष्ट्रपति ,उपराष्ट्रप्रति, प्रधानमन्त्री , प्रधानन्यायधिस, सभामुख, मन्त्रीगण, कुटनैतिक नियोगका प्रमुखहरु गणतन्त्र दिवसमा सहभागी ....यो समाचारले झनै आक्रोस बढाइरहेको थियो।
के यतिका लागि हो गणतन्त्र,।१० वर्षे कथित जनयुद्ध, १९ दिनको जनआन्दोलन के श्री ५ ज्ञानेन्द्र विरविक्रम शाहको विदाई मात्र थियो ? गणतन्त्रको उत्सव काठमाडौंको राजधानीमा चिल्ला,गाडी र स्यारसुसारेका लागि मात्र हो ? खै ति ज्युँदा योद्धाहरु जसले महामहिमहरुलाई संसारका काला महंगा चस्मा लगाएर सैनिक मञ्च भित्राउने खेलमा आफुलाई समाहित गरे । खै ति योद्धाहरु जो आज पनि उपचार अभावमा दिनहुँ मरिरहेका छन ।
काठमाडौंका ३ हजार महंगाहरुले मात्र मनाउने गणतन्त्रको अर्थ के हो ? राजधानी काठमाडौले अनुभुत गर्न नसकेको तिम्रो गणतन्त्र दुरदराजमा पुग्न सक्छ ? माघ १६ गतेका लागि मात्र हो त्यो सहिद गेट, शान्ती पार्क, यदि हो भने भत्काईदेउ ति संरचना र ठड्याउ त्यहाँ भ्यु टावरहरु अनि कम्लेक्स । फालिदेउ केहि रोस्ट, र बोटलहरु सहिद दिवसमा पनि उसै गरी मनाऔला ।
यो अक्रोसलाई विस्तारै मोडदै आफ्नै अनुभुतिमा पुन महिलाहिंसा विरुद्धका कार्यक्रममा सहभागी हुन पुगियो । आज गणतन्त्र दिवस , हरेक सरकारी कार्यालयहरु खुलेका हुन एकले अर्कोलाई शुभकामना दिएको होस । अनिवार्य रुपमा आफ्ना राष्ट्रिय पोशाक लगाउने आदेश आएको होस । हरेक बालगृह, बृद्धाआश्रमहरुका लागि विशेष कार्यक्रमको आयोजना गरिएको होस ।
राष्ट्रपति देखी प्रधानमन्त्रीहरुका लहरहमा जनआन्दोलनका सहिद परिवारहरुको उपस्थिती होस , घाईते बनेर असक्त भएकाहरु आफैले आफैलाई गौरव गर्ने इतिहासका साक्षी बनेका हेर्नका लागि एउटै लहरमा बसेका हुन । नेपालको सान उचो पारेका खेलाडीदेखि ,आरोहिसम्म, कलाकारदेखि साहित्यकारसम्मको उपस्थिती होस । वैज्ञानिक देखी आविस्कारकहरुको उपस्थिती होस । सडकहरुमा गणतन्त्र दिवसको उत्साह थपिएको होस । नेपालका झण्डाहरुले सडक राताम्ये भएको होस । सञ्चार माध्यमदेखी पत्रपत्रिकाहरुमा ति दिनहरुमा सहभागी भएकाहरुका बारेमा गौरव गाथाका तस्विरहरु छापिएको होस । हरेक विद्यालयमा राष्ट्रिय भाव झल्कने गित संगीतले मनोरञ्जन दिएको होस , ठुलाठुला उद्योगपतिहरुले विभिन्न सतकर्मका लागि सहयोग गर्ने होडबाजी चलेको होस । आह यो पो होला त सानो देशको ठुलो गणतन्त्र ?
छिमेकि प्रधानमन्त्री मोदि आँउदा चिल्लिने सडक भन्दा, गणतन्त्रका सडकहरु चिल्ला भइदिए, सफा भइदिए । सडकका खम्बाहरु हिजो भन्दा आजको दिन सिंगारिएको भइदिए, सञ्चार माध्यममा हिजोका भन्दा आजको दिनलाई स्मरण योग्य बनाउने भइदिए , खै मेरो गणतन्त्र त राष्ट्रपतिका कालो चस्मा र प्रधानमन्त्रीको दौराको फेरोमा अड्किएको जस्तो मात्र भयो । तिमिहरु व्यक्ति बदिलिएका मात्र हो , व्यवस्था नामको मात्र बदिलिएको हो । नियत त आखिर एउटै नै हो ।
१९ दिने जनआन्दोलनमा भागदौड गरेको एक युवाका रुपमा यहि त हो मेरो बुझाई।