- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सधै जसो जेष्ठ १५ को विहान पनि दशरथ रंगशाला पुग्ने योजनाका साथ स्कुटरबाट रंगशालाको यात्रा तय भयो । शनिबार पनि होइन किन आज सडक खाली छ, अलि चाँडै पो आइएछ कि कसो सोच्दासोच्दै रंगशाल पुगियो ।
रंगशालमा पुग्ने वितिकै स्रष्ट्राहरुको मुहार देखिन्छ, कुनै उत्साह छैन , कुनै उमंग छैन ,तैपनि पसिना बगाइरहेका हुन्छन। सन्तुष्टिका वाक्यहरु दोहोराउँछन केहि होला कुनै दिन त यस्तै कुराकानीमा दैनिक झै आफ्नो कसरत व्यायम सिद्धिन्छ । शुभ दिनको कामना भन्दै दशरथ रंगशालालाई एक पकट दर्शन गर्यो अनि हिड्यो ।
आज किन सडक खाली भन्ने विहान ६ बजेको जवाफ फर्केने बेलामा ९ बजे रंगशालाबाट दरबार मार्ग सम्मको यात्राले पुष्टि गरिदियो । आज जेष्ठ १५ गते गणतन्त्र दिवस अनि पो सडक खाली भएको रहेछ । सार्वजैनिक विदा पनि त हो नि , धत् आफैले आफैलाई गाली पनि गरियो ।
सैनिक मञ्च टुडिखेल अगाडी पुग्नु भन्दा अगाडी गणतन्त्र दिवशलाई सम्झदै सहिद गेटलाई हेँरे, एक्लै टाढाबाट देशका महामहिमहरुलाई नियाली रहेको थियो । खाली पानीका बोटल, अनि फोहरका विचमा बसेर सहिद गेटका ढुङ्गाहरु एकले अर्कोलाई जिस्काइरहेको जस्तो देखिन्थ्यो । सहिद गेट बडो निसास्दै हेर्न खोज्दै थियो आज के हुदैछ छिमेकीको मैदानमा , कहि कतै आज देशका मुर्धन्य योद्धाहरुलाई मर्नु भन्दा अगाडी नै सम्मान दिन त खोजिएको हौइन। ओहो यस्तो भइदिए, कम्तिमा वर्षको एक दिनमा हुने भिडहरु त कम हुन्थ्यो ।
सैनिक मञ्च अगाडीका सडकहरुमा लट्ठी लिएर बसेका प्रहरी जवानहरुको लाइन , सधैजसो उखरमाउलो घाम अनि धुलोँमा सिट्ठि बजाईरहेका ट्राफिक, उहि जाम, सैनिक मञ्च वरपरका पसलहरुमा उहि हिजो झै ग्राहकको पर्खाइ। भरियाको उहि भारी बोकाई, बोलाहको उहि दृष्यहरु हेर्ने अवसर मिलेको थियो । सोच्दा सोच्दै, पुरै हावाहुरी आए झै सेता मोटरसाइकलमा सवार सारथीहरु, रातो बत्ति बालेका मोटरहरु, अघि पछि काला चस्मा र दौरा सुरुवाल लगाएका हेर्दै देशका ठुला देखिने मानिसका मंहगा गाडीहरु एक एक गर्दै मञ्च तर्फ जादै थिए ।
सैनिक मञ्चका वरपर करिब १ देखी २ हजार सम्मका दर्शकहरु कुनै राहत प्याकेज आउने आशमा झै पर्खिरहेका थिए । कुनै उत्साहमा होइन । हिजो रत्नपार्कमा बस्ने , आज सैनिकमञ्च अगाडी फरक यति मात्र हो जस्तो लाग्यो । ए साच्चै आज त गणतन्त्र दिवस पो हो त। अनि केहि समय अगाडीको लर्को त राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिस लगायतको जथ्था पो थियो । २०६५ जेष्ठ १५ गते एउटा ठुलै उत्साह थियो मानौ कुनै एउटा सानो राज्य अव सार्वभौम भएजस्तै , ९ वर्ष पछि आएको गणतन्त्रमा खै कसको लगाव सोच्दै आँए। के उनै नेताहरुको मात्र, मन्त्रीहरुको मात्र उहि कुटनैतिक निकाएको मात्र यसकै लागि हो गणतन्त्र ?
कल्पना गर्दा गर्दै माओवादी द्धन्द्ध पिडितहरुको सम्झनाले प्रश्नहरु गर्न थाले, राज्यको दमनका प्रश्नहरु मनमा आए काठमाडौं लगायत देशभरका युवाहरु युद्धको मोर्चा सडकमा ढलेको चिच्याएको , कराएको ऐए्या, आमा, मरे आमा, निरंकश राजतन्त्र मुर्दावाद , सिंहदरवार खाली गर जनताको छोरो आउदैछ , ले ले जनता .ले ज्ञानेन्द्र लाई .....दे यो आवाजहरु कानमा कर्कश लाग्ने गरेर गुञ्जन थाले। लाठी अश्रुग्यास, बुट , रबरका गोली भागदौड आक्रोसका तस्विरहरु धमाधम आँखा अगाडी नाच्न थाले, ओहो त्यो हो गणतन्त्र ?
सहिद गेट धुरुधुरु रुनु पर्ने, सैनिक मञ्चमा उहि अनुहारहरु दुरविन लगाएर नाटक हेर्ने , अनि सडकमा आमा भन्दै ढलेका, गलेका गणतन्त्रका नाममा अशक्त भएर बाँच्नु परेका नागरिकहरु भने आफैले आफैलाई धिक्कार गरेर बस्नुपर्ने ? के त्यो वर्गको, त्यो सम्प्रदायको , त्यो जमातको जिउँदो वर्तमानहरुलाई त्यो समारोहमा समाहित गर्नु पर्ने होइन ?
आफैलाई प्रश्नगदै घरआइपुँगे । ९ वर्षमा एउटा साधारण जनताले गणतन्त्रको आभास गर्न पाएको अनुभुति भएन । रंगशालामा देशका लागि पदक जिताउने योद्धाहरु पानीका अभावमा राष्ट्र सम्झदै पसिना बगाउदै थिय । एउटा गरिब मजदुर उहि भारी बोकेर पसिना पुच्दै रु १०० का लागि लडाइ लडिरहेको थियो । बौद्धिक जमात फेशबुक र टिविटमा आफ्ना वाक्याशंहरु पोखिरहेका थिय । सञ्चार माध्यमले राष्ट्रपति ,उपराष्ट्रप्रति, प्रधानमन्त्री , प्रधानन्यायधिस, सभामुख, मन्त्रीगण, कुटनैतिक नियोगका प्रमुखहरु गणतन्त्र दिवसमा सहभागी ....यो समाचारले झनै आक्रोस बढाइरहेको थियो।
के यतिका लागि हो गणतन्त्र,।१० वर्षे कथित जनयुद्ध, १९ दिनको जनआन्दोलन के श्री ५ ज्ञानेन्द्र विरविक्रम शाहको विदाई मात्र थियो ? गणतन्त्रको उत्सव काठमाडौंको राजधानीमा चिल्ला,गाडी र स्यारसुसारेका लागि मात्र हो ? खै ति ज्युँदा योद्धाहरु जसले महामहिमहरुलाई संसारका काला महंगा चस्मा लगाएर सैनिक मञ्च भित्राउने खेलमा आफुलाई समाहित गरे । खै ति योद्धाहरु जो आज पनि उपचार अभावमा दिनहुँ मरिरहेका छन ।
काठमाडौंका ३ हजार महंगाहरुले मात्र मनाउने गणतन्त्रको अर्थ के हो ? राजधानी काठमाडौले अनुभुत गर्न नसकेको तिम्रो गणतन्त्र दुरदराजमा पुग्न सक्छ ? माघ १६ गतेका लागि मात्र हो त्यो सहिद गेट, शान्ती पार्क, यदि हो भने भत्काईदेउ ति संरचना र ठड्याउ त्यहाँ भ्यु टावरहरु अनि कम्लेक्स । फालिदेउ केहि रोस्ट, र बोटलहरु सहिद दिवसमा पनि उसै गरी मनाऔला ।
यो अक्रोसलाई विस्तारै मोडदै आफ्नै अनुभुतिमा पुन महिलाहिंसा विरुद्धका कार्यक्रममा सहभागी हुन पुगियो । आज गणतन्त्र दिवस , हरेक सरकारी कार्यालयहरु खुलेका हुन एकले अर्कोलाई शुभकामना दिएको होस । अनिवार्य रुपमा आफ्ना राष्ट्रिय पोशाक लगाउने आदेश आएको होस । हरेक बालगृह, बृद्धाआश्रमहरुका लागि विशेष कार्यक्रमको आयोजना गरिएको होस ।
राष्ट्रपति देखी प्रधानमन्त्रीहरुका लहरहमा जनआन्दोलनका सहिद परिवारहरुको उपस्थिती होस , घाईते बनेर असक्त भएकाहरु आफैले आफैलाई गौरव गर्ने इतिहासका साक्षी बनेका हेर्नका लागि एउटै लहरमा बसेका हुन । नेपालको सान उचो पारेका खेलाडीदेखि ,आरोहिसम्म, कलाकारदेखि साहित्यकारसम्मको उपस्थिती होस । वैज्ञानिक देखी आविस्कारकहरुको उपस्थिती होस । सडकहरुमा गणतन्त्र दिवसको उत्साह थपिएको होस । नेपालका झण्डाहरुले सडक राताम्ये भएको होस । सञ्चार माध्यमदेखी पत्रपत्रिकाहरुमा ति दिनहरुमा सहभागी भएकाहरुका बारेमा गौरव गाथाका तस्विरहरु छापिएको होस । हरेक विद्यालयमा राष्ट्रिय भाव झल्कने गित संगीतले मनोरञ्जन दिएको होस , ठुलाठुला उद्योगपतिहरुले विभिन्न सतकर्मका लागि सहयोग गर्ने होडबाजी चलेको होस । आह यो पो होला त सानो देशको ठुलो गणतन्त्र ?
छिमेकि प्रधानमन्त्री मोदि आँउदा चिल्लिने सडक भन्दा, गणतन्त्रका सडकहरु चिल्ला भइदिए, सफा भइदिए । सडकका खम्बाहरु हिजो भन्दा आजको दिन सिंगारिएको भइदिए, सञ्चार माध्यममा हिजोका भन्दा आजको दिनलाई स्मरण योग्य बनाउने भइदिए , खै मेरो गणतन्त्र त राष्ट्रपतिका कालो चस्मा र प्रधानमन्त्रीको दौराको फेरोमा अड्किएको जस्तो मात्र भयो । तिमिहरु व्यक्ति बदिलिएका मात्र हो , व्यवस्था नामको मात्र बदिलिएको हो । नियत त आखिर एउटै नै हो ।
१९ दिने जनआन्दोलनमा भागदौड गरेको एक युवाका रुपमा यहि त हो मेरो बुझाई।