arrow

प्रतिपक्षसँग नतर्सिकन सरकार सञ्चालन गर्न ओलीलाई सुझाव

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
nc.jpg.jpeg
सुशिला संग्रौला, बिर्तामोड । नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई प्रतिपक्ष नतर्सिन र ढुक्कले सरकार सञ्चालन गर्न सुझाव दिनुभएको छ । नेपाली कांग्रेस झापाद्वारा आइतवार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले कांग्रेस सरकार गिराउने खेलमा नलागेको हुँदा प्रतिपक्षबाट नतर्सन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।
 
प्रधानमन्त्रीले नयाँ संविधानको मर्म र भावना विपरित ४५ जनाको मन्त्रीमण्डल बनाएर देश र जनताको खिल्ली उडाएको बताउँदै कांग्रेस नेता श्रेष्ठले भन्नुभयो–‘हामी (नेपाली कांग्रेस) आफ्नै पार्टीको १३औं महाधिवेशनको तयारीमा छौं, आगामी चैतसम्म हामी महाधिवेशनमा व्यस्त हुन्छौं, तपाईं ढुक्कले सरकार चलाउनुहोस् ।’ वर्तमान सरकारलाई असल प्रतिपक्षको रुपमा नेपाली कांग्रेसको पूर्ण सहयोग रहने बताउँदै नेता श्रेष्ठले अगाडि भन्नुभयो–‘ओलीजीको सरकार कांग्रेसका कारणले नभई गठनबन्धनकै अनेखाले स्वार्थका कारण पतन हुन्छ भने त्यसको दोष र जिम्मा हामी लिन सक्दैछौं ।’
 
मधेशका जायज माग पुरा गर्न नेपाली कांग्रेस सकारात्मक भएरनै सुशिल कोइराला नेतृत्वको सरकारले संविधान संशोधन विधेयक संविधानसभामा प्रस्तुत गरेको नेता श्रेष्ठले बताउनुभयो । कांग्रेसको महाधिवेशनपछि देशमा विद्यमान संकट समाधानमा पार्टीपंक्ति एकढिक्का भएर अगाडि बढ्ने बताउँदै नेता श्रेष्ठले भूकम्पपीडित र अघोषित नाकाबन्दीबाट पीडित सबै जनताको राहत र उद्दारमा कांग्रेसले सरकारलाई सहयोग गरिरहेको जनाउनु भयो । 
 
अर्का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको अवस्था वर्तमानमा अत्यन्त संकटपूर्ण रहेको बताउँदै यो संकटको घडीमा कांग्रेसले सरकार बनाउने, गिराउने खेल नगरी जिम्मेवार प्रतिपक्षको रुपमा यही सरकारलाई सहयोग गरेर देशलाई निकास दिने नीति लिएको जनाउनुभयो । नेपालमा देशविकासका लागि पर्याप्त श्रोत र साधन रहेको भनाई राख्दै नेता कार्कीले जनश्रोेत, कृषि र पर्यटनको विकासबाट देश र जनताको समृद्धि ल्याउन सकिने भनाई राख्नुभयो । 
 
अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पाको पुस्ताले राजनीतिमा अभिभावकको भूमिका निर्वाह गर्दै युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न तयारी हुनुपर्ने भनाई राख्नुभयो । युवालाई पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पेर युवा जोस र जाँगरकासाथ पार्टी संगठन सुदृढिकरण नभएसम्म लोकतन्त्र फष्टाउन नसक्ने नेता बुढाथोकीको  धारणा थियो । कांग्रेसका युवा नेता केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको अबको प्रतिष्पर्धा नेपालका बामपन्थीहरुसँगै भएकोले जोसँग प्रतिष्पर्धा, उसैसँग सत्ता साझेदारी हुनै नसक्ने भनाई राख्नुभयो । 
 
संसदीय लोकतन्त्रको अभ्यास भनेकै बहुमतको सत्ता र अल्मतको दह«ो प्रतिपक्ष रहेको बताउँदै कांग्रेस प्रतिपक्षमा रहँदा लोकतन्त्रको मूल्य र मान्यताको विकास गर्न झन् मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । जिम्मेवार प्रतिपक्षले सरकारलाई काम गर्न सहज बातावरण बनाउने, बन्दहड्ताल, चक्काजाम जस्ता अनावश्यक गतिविधि गरेर जनतालाई दुःख दिन नहुने र सरकारका गलत कामको सालिन ढंगमा विरोध गर्नुपर्ने जस्ता सवालहरु कांग्रेसबाट अरु पार्टीले सिक्नुपर्ने नेता पौडेलको धारणा थियो । 
 
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा सांसद तथा नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभागका सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस ताप्लेजुङका पूर्व सभापति डिभी राई लगायतका वक्ताहरुले नेपाली कांग्रेसले आगामी महाधिवेशनमार्फत चुस्त–दुरुस्त नेतृत्व चयन गरेर राष्ट्रका सारा समस्या समाधानमा एकढिक्का भएर लाग्नुपर्नेमा जोड 
दिनुभएको थियो । नेपाली कांग्रेस झापाका उपसभापति देउमान थेवेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सह–सचिव लक्ष्मण खड्काले गर्नुभएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ