arrow

प्रधानमन्त्री कप क्रिकेट : वर्षाले खेल प्रभावित, आर्मी र पुलिस दुबै संयुक्त विजेता घोषित

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
win_-ckt.jpg

काठमाडौं । प्रथम प्रधानमन्त्री कप क्रिकेटको फाइनल वर्षाले प्रभावित भएपछि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी संयुक्तरुपमा विजेता घोषित भएका छन् । विहिबार कीर्तिपुरमा भएको दुई विभागीय टोलीबीचको फाइनल भिडन्त वर्षाका कारण प्रभावित भएसँगै संयुक्त विजेता घोषित गरिएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको पुलिसले ४५ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय २६ रनको सामान्य योगफल तयार गरेको थियो । पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३२ रन बनाए ।

आर्मीका जितेन्द्र मुखियाले ४ तथा सुशन भारीले ३ विकेट लिए । जवाफमा १ सय २७ रनको चुनौती पछ्याउँदै मैदानमा उत्रिएको आर्मीले २ दशमलव ३ ओभरमा एक विकेट गुमाएर ७ रन जोडेकै अवस्थामा वर्षाले खेल रोकिएको हो ।

पछि खेल नै हुन सकेन । अन्ततः दुबैलाई संयुक्त विजेता घोषित गरियो । आर्मीका सागर पुन ‘म्यान अफ द सिरिज’ घोषित भए । सागरले एक लाख र ट्रफी प्राप्त गर्दा २५ प्रतिशत रकम वृद्धाश्रमलाई दिने घोषणा समेत गरेका छन् ।

यस्तै, सौरव खनाल उत्कृष्ठ व्याट्सम्यान र सुशन भारी उत्कृष्ठ बलर घोषित भए । आर्मीले सेमिफाइनलमा पश्चिमाञ्चललाई तथा पुलिसले सशस्त्र प्रहरीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेसँगै राष्ट्रिय खेलकुद परिषद राखेपले आयोजना गरेको एक दिवसीय प्रतियोगितामा विजेतालाई २० लाख तथा उपविजेतालाइ १० लाख रुपैयाँ पुरस्कार दिने भनिएकामा संयुक्त विजेता घोषणा गरेसँगै दुबै टोलीले समान १५–१५ लाख रुपैयाँ बाँडे । विजेतालाई उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरस्कार वितरण गरे । यो प्रतियोगिता घरेलु क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक राशिको प्रतियोगिता हो ।



नयाँ