arrow

प्रधानमन्त्री, देउवाका लागि युग पुरुष बन्ने अवसर

logo
अमरदिप मोक्तान।
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
amardeep-moktan.jpg.jpeg

काठमाडौँ। काँग्रेस सभापति शेरबहादुर देउवा मंगलवार संसदबाट चौथो पटक ४०औँ नेपाल को प्रधानमन्त्रीमा निर्वाचित भए।  बारम्बार प्रधानमन्त्री बन्ने भाग्यशाली मध्येका एक नेता  भएता पनि शेरबहादुर देउवामाथि हमेसा असफलको पदवी  झुण्डी नै रह्यो। शेर बहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदाको समय, परिस्थिति र यस पटकको प्रधानमन्त्री पदमा आकाश जमिनको फरक छ। यसपटकको प्रधानमन्त्री पद  काँडा नै काँडा को बीचमा फुलेको गुलाब फुल जस्तै छ। जनताले सुम्पेको कार्यभार सफलतापूर्वक सम्पन्न गर्न सके शेरबहादुर देउवा गुलाब फुल जस्तै गरि नेपालको इतिहासमा सुन्दर र सुभाषित हुने छन्।यदि जनताले सुम्पिएको अभिभारा पुरा गर्न सकेनन भने राष्ट्रले त कष्ट पाउने नै छ साथै शेर बहादुरको नाम नेपाली इतिहासमा कलंकित प्रधानमन्त्रीको रुप मा अंकित हुने छ।

विगतमा जे जस्ता आक्षेप लागेता पनि प्रधानमन्त्रीको रुपमा बाबुराम भट्टराईदेखि  प्रचण्डसम्म आईपुग्दा प्रायः जसो प्रधानमन्त्रीले कुनै न कुनै रुपमा राम्रो कार्य गरेर इतिहासमा नाम दर्ज गराएका छन्। बाबुराम भट्टराईको सडक विस्तार योजना ,नेपालको अर्थनीतिलाई सहि मार्गमा ल्याउन सबैलाई करको दायरामा ल्याउने कार्य तथा अनुगमन कार्यलाई तिब्रता दिएर उपभोक्ता हितको संरक्षण गर्ने कार्य सराहनीय थियो ।

रुग्ण र अस्वस्थ भएता पनि स्व सुशिल कोइरालाद्वारा नेपालको ऐतिहासिक संबिधानको घोषणा गर्नु  प्रशंसनीय  थियो। नेपालको ऐतिहासिक संबिधान घोषणा पश्चात क्षुब्ध हुदै भारतले लगाएको अघोषित नाकाबन्दी विरुद्ध खड्ग प्रसाद ओलीले अडिग र अटल भएर सामना गर्नुको साथै मित्र राष्ट्र चीनसंग ऐतिहासिक पारवहन सन्धि गरेर भारतको बङ्गाल बिहार ,उत्तर प्रदेश ,उत्तराखण्ड परिवेस्ठित मुलुकबाट उन्मुक्ति दिलाउदै भूपरिवेष्ठित नेपालमा परिणत गर्नु  नेपाल र नेपाली जनताले युगौ युगसम्म याद रहने साहसिक कार्य थियो ।

खड्ग ओलीले देखाएको अदम्य साहसिक निर्णयको तत्कालिन रुपमा लाभ न देखिएता पनि उल्लेखित  ऐतिहासिक निर्णयका कारण भविष्यमा नेपाल विकाशशील राष्ट्रको श्रेणीमा परिणत हुने अवस्यम्भावी छ ।पुष्पकमल दाहालको दस महिने कार्यकालको सन्दर्भमा भन्नु पर्दा यस पटक विगतको तुलनामा प्रचण्डमा धेरै परिपक्वता देखियो |

प्रचण्ड कार्यकाल को उपलब्धि
१) प्रथम चरणको नगरपालिका /गाउँ पालिकाको सफलताका साथ सम्पन्न गर्नु
२) मित्र राष्ट्र चीनसंग वन बेल्ट वन रोड परियोजनामा हस्ताक्षर गर्नु
३)काठमाडौँ  सिमरा फास्ट ट्रेक सडकको शिलान्यास एवं नेपाली सेनालाई सडक निर्माण गर्ने जिम्मा दिने निर्णय गर्नु। मधेशी दलहरुद्वारा मधेशी शब्द रहित पार्टीको नामकरण गर्नु प्रचण्ड कार्यकालमा भएको हुनाले त्यसको श्रेय प्रचण्डको पोल्टामानै जान्छ ।
४) सबैभन्दा महत्वपूर्ण दुबै छिमेकी मित्र राष्ट्र चीन र भारतसंग सन्तुलन बनाउदै मित्रता पूर्ण सम्बद्ध कायम गर्नुले प्रचण्डको राजनीतक परिपक्वता पुष्टि हुन्छ।

नेपाल संवेदनशील घडीमा उभिएको बेला ४० औ प्रधानमन्त्रीको रुपमा शेर बहादुर देउवाको कार्यकाल सफल हुने वा न हुने त्यो नेपाली जनता ले हेर्न बाकी नै छ। शेर बहादुरको विगतको प्रधानमन्त्रित्व काललाई फर्केर  हेर्दा सफल र असफलको मिश्रण भएता पनि असफलताको पल्ला नै भारी देखिन्छ। स्मरण रहोस शेर बहादुर प्रधानमन्त्रीत्व कालमा राजनीतिलाई दुर्गन्धित गर्ने पजेरो काण्ड,सांसद खरिद बिक्रि जस्तो राजनीतिक बिकृतिको सुरुवात भएको थियो भने तत्कालिन माओवादीसंग राजनैतिक परिपक्वता प्रदर्शित न गर्नुको कारण नेपाल दस बर्षे जनयुद्धमा होम्मिन पुग्यो । तेस्रो पटकको प्रधानमन्त्रित्व कालमा राजा ज्ञानेन्द्रले असफलताको बिल्ला भिराउदै शेर बहादुरलाई अपदस्थ गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए।
 
एकातर्फ शेर बहादुर ३८८ सभासदको विशाल बहुमत प्राप्त गर्दै नेपालका ४०औ प्रधानमन्त्री बनेको अवस्था छ भने दोस्रो तर्फ दोस्रो चरणको नगरपालिका/गाउँ पालिकाको चुनाव लगतै प्रदेश र केन्द्रको चुनाव सम्पन्न गर्नुपर्ने, एमाले जस्तो शक्तिशाली विपक्षको सामना गर्नुपर्ने, संबिधानमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु पर्ने, संबिधानको पूर्ण रुपमा कार्यान्वयनका चरणमा आउने व्यवधानलाई कुशलतापुर्वक समाधान गर्नु पर्ने र संबिधान संसोधन गरेर सम्पूर्ण नेपाली को चित्त बुझ्ने गरि सर्वस्वीकार्य बनाउने विशाल अभिभारा पनि शेर बहादुरको काँधमा छ | 

कहिले कहिँ समय र परिस्थिति नकारात्मक देखिएता पनि त्यस भित्र सकारात्मकता लुकेको हुन्छ।शेर बहादुर समक्ष समय कम र चुनौती को भण्डार साथै महत्वपूर्ण परिक्षाको घडी पनि हो । शेर बहादुरको यो कार्यकालमा राम्रो /असल /उत्कृष्ट बाहेक  भुल /गल्ति भन्ने शब्दको कुनै स्थान छैन र स्थान पाउनु पनि हुदैन । शेर बहादुरको एक भुलले शेर बहादुरको राजनीति हमेशाका लागि अन्त हुने नै छ भने नेपाल र नेपाली माथि भयंकर विपदको पहाड उभ्भिने छ। तसर्थ  शेर बहादुरले बुद्धिमता प्रकट गर्दै बिना भेदभाव सबैलाई साथ लिएर एक एक पाइला अगाडी बढाउनु पर्छ ।शेर बहादुरको काँधमा आएको चुनौती  ठुलो अवसर पनि हो यो।अवसरको दुरुपयोग गरिए नेपाल अस्वस्थ हुने छ भने सदुपयोग गर्न सके नेपाल स्वस्थ , सबल नेपालमा परिणत हुने बाटो खुल्ने छ। साथै नेपालको इतिहासमा कुनै पनि राष्ट्रमा बिरलै नेताले प्राप्त गर्ने "युग पुरुष" को उपाधि ले शेर बहादुर  विभूषित हुने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ