arrow

नमुना मतदानमै मतदाता अल्मलिएपछि.......

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
Ilam-hamrakura.jpg.jpeg

इलाम । “सिकाए पनि अल्मलिने मतपत्र रहेछ यसपटक । यति लामो मतपत्रमा दर्जनौँ चुनाव चिह्न देखेर म १० मिनेट अल्मलिएँ”, देउमाई नगरपालिकास्थित धुसेनीकी रमा तिम्सिनाले भनिन् – “यस्तै हो भने मेरो बुबाआमा त झुक्किनुहुन्छ । यसपटक धेरै मत खेर जालाजस्तो छ ।” 

शुक्रबार देउमाई नगरपालिकाको मङ्गलबारे बजारमा जिल्ला निर्वाचन कार्यालय, इलामको आयोजना तथा देउमाई नगरपालिका कार्यालयको संयोजनमा सञ्चालित नमुना मतदान कार्यक्रममा नमुना मतदानमा भाग लिएपछि रमाले भनिन् – “मजस्तो पढेलेखेको मान्छे त मतपत्र पढेर मतदान गरुँला, तर अल्मलिने यस्तो मतपत्रमा वृद्धवृद्धाले कसरी भोट हालेर आउनुहोला र खै ?” 

तिम्सिना जस्तै नमुना मतदानमा भाग लिने धेरै मतदाताले मत हाल्ने तरिका थाहा नपाउँदा अल्मलिएका थिए । 

निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा दिइरहेको छ, तर सबै गाउँ–ठाउँमा मतदान गर्ने तरिका सिकाउन नसक्दा धेरै मतदाता अलमलमा परेका हुन् । 

निर्वाचन आयोगले मतदान गर्न सामाजिक सञ्जालसमेत उपयोग गरेको छ । 

युट्युबमा कतिजनालाई कसरी मतदान गर्ने भन्ने श्रव्यदृश्य नै राखेको छ । 

बीस वर्षअघिको मतपत्रमा पनि स्थानीय निर्वाचनमा सातैजनालाई मतदान गर्नुपर्दा उम्मेदवारको सङ्ख्या कम, मतपत्र सानो र चुनाव चिह्न ठूला थिए ।

 “नपढेका मतदाता र व्यक्ति छानेर भोट हाल्नुपर्नेका लागि केही समय लाग्छ । धेरै चुनाव चिह्न भएको दुई कोलमको र ठूलो भएकाले यसपटकको मतपत्र अप्ठ्यारै रहेको छ,” जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए । 

जति बुझाउन खोजेपनि मतदाता झस्किने गरेको उहाँको भनाइ छ । 

मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नका लागि निर्वाचन कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटिरहेका उनले बताए । 

कर्मचारीले मात्र भोट हाल्ने तरिकाको बारेमा बुझाउन नसकिरहेको अवस्थामा राजनीतिक दलहरूले पनि मतदातालाई मतदान गर्ने तरिकाका बारेमा बुझाउन आग्रह गरे । 

मङ्गलबारेमा गरिएको नमुना मतदानको कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागिता थियो । तर नमुना मतदानमा भने ५० जनाले भाग लिएका थिए ।

नमुना मतदान कार्यक्रममा निर्वाचन कार्यालयले स्थानीय मतदातासँग बसेर भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराएको थियो । 

पहिलो चरणमा भएको निर्वाचनमा अत्यधिक मत बदर भएपछि दोस्रो चरणको निर्वाचनका क्रममा इलाममा त्यो अवस्था नदोहोरियोस् भन्ने उद्देश्यले निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको र ठाउँ–ठाउँमा नमुना मतदान कार्यक्रम गरिरहेको निर्वाचन कार्यालय प्रमुख काफ्ले बताउँछन् । 

उनका अनुसार यसअघि इलाम नगरपालिकाको बरबोटे र गोलाखर्क भञ्ज्याङ र गोदकमा नमुना मतदान गरिसकिएको छ । 

आगामी बिहीबार इलाम चोकबजारमा नमुना मतदान कार्यक्रमको आयोजना गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ