arrow

भरतपुर काण्ड सर्वोच्चको सुनुवाई प्राथमिकतामा परेन, रिटको पेशी सर्‍यो

हेर्न नसकिने भन्दै मंगलबार पेशी सारियो

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं ।  भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटको सुनुवाई सरेको छ। मत गणनाका क्रममा मतपत्र च्यातिएपछि आयोगले पुनः मतदान गर्न मिति तोक्न निर्वाचन अधिकृतलाई दिएको निर्देशनविरुद्ध परेको रिटको सुनुवाई आइतबारका लागि तोकिएको थियो।

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासमा राखिएको मुद्दा आइतबार हेर्न नभ्याउने भएपछि मंगलबारका लागि पेशी सरेको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले हाम्राकुरालाई जानकारी दिए। उनले भने, ‘आइतबार हेर्न नभ्याइने भएर मंगलबारका लागि सरेको छ।’ मंगलबार सुनुवाई हुन्छ। यसअघि न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो।

मतगणना भइरहेका बेला गएको १४ गते आइतबार राति उम्मेदवारका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले मतगणनास्थल कब्जा भएको भन्दै सम्पूर्ण मतपत्र रद्द हुने र १९ नम्बर वडामा पुनः मतदान गरिनुपर्ने निर्णय गरेको थियो । सर्वोच्चले २२ गते आयोगको निर्णय यथास्थितमा राख्न आदेश दिँदै आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। आयोगको निर्णय बदर गर्न माग गर्दै भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले गएको आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।

आयोगले छानविनका लागि गठन गरेको अध्ययन टोलीले ९० मतपत्र च्यातिएको प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन र पुरानो नजिर हेरर निर्णय गरेको आयोगको जिकिर छ। भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मेयरका प्रतिश्पर्धी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ