वीरगन्ज । मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको आत्माको चिरशान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सद्भावना पार्टी पर्साले वीरगन्जको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गहवामाई मन्दिर परिसरमा प्रार्थनासभाको आयोजना ग¥यो ।
सभामा सो पार्टीका सहअध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्ण, केन्द्रीय सदस्य निजामुद्दिन समानी, जिल्लास्तरीय नेता तथा कार्यकर्ता, बुद्धिजीवी, व्यापारी, समाजसेवीलगायतको ठूलो सङ्ख्यामा उपस्थिति थियो । प्रार्थनासभा पछि स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कर्णले वर्तमान समस्याको निकासप्रति सरकार संवेदनशील नरहेको आरोप लगाए ।
मोर्चा निरन्तररुपमा वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्नुपर्ने पक्षमा रहेको छ, उहा“ले भन्नुभयो– “मधेसको असन्तुष्टिलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न मोर्चाले पटकपटक गरेको आग्रहलाई प्रमुख दल र सरकारले गम्भीरतापूर्वक नलिएका कारण नै समस्या बल्झिँदै गएको छ ।” नेता कर्णले मधेसमा जारी आन्दोलनले सिङ्गै मुलुक पीडामा रहेको र त्यसमा पनि मधेसले थप दोहोरो पीडा खेपिरहेको चर्चा गर्दै जस्तोसुकै पीडा र अभाव सहेर भए पनि मधेसले आफ्नो अधिकार लिएरै छाड्ने बताए ।
मधेस केन्द्रित दलबीच निर्माण भएको मोर्चालाई थप सशक्त र प्रभावकारी बनाउन मोर्चा बाहिर रहेका अन्य मधेसवादी दललाई समेत सहभागी गराउने गृहकार्य भइरहेको उनले बताए । नेता कर्ण भने सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको मनपरि अभिव्यक्तिले मोर्चाको गठबन्धनमा कुनै असर नपर्ने बताउँदै मोर्चा अझ सबल भएर अगाडि आउने दाबी गरे ।