काठमाडौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका केही घर एक हप्ताअघि नै भत्काउन सुरु गर्नुपर्ने भनिएपनि स्थानीयले अटेर गर्दा अहिलेसम्म पनि भत्काउने काम सुचारु हुन सकेको छैन । विमानस्थल आसपासमा रहेका केही घरले हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न गरेकाले गत सोमबार देखिनै काठमाडौँ महानगरपालिकाले भत्काउनका लागि घरधनीलाई अनुरोध गरेको थियो ।
काठमाडौँ महानगरपालिकाको अनुगमनले मापदण्ड विपरीत ठहर गरेका वडा नम्बर ३५ मा पर्ने छवटा घर गत हप्तादेखिनै भत्काउन सुरु गर्नुपर्ने बताएको थियो तर स्थानीयले यसरी नै अटेर गरी यही पुस २२ गतेसम्म पनि काम सुरु नगरे २२ गतेदेखि महानगरलेनै ती घर भत्काउन सुरु गर्ने महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
उनले अनुसार महानगरले यससँगै ३५ नम्बर वडामा नै चार वटा घरलाई तत्काल तला थप्ने काममा समेत रोक लगाएको छ । भत्काउन लागिएका घर केही नक्साबिनाका तथा केही नक्सा विपरीत निर्माण गरिएको पाइएको कामपाले बताएको छ । कामपा बोर्डका इन्जिनियर वीरबहादुर कार्कीको संयोजकत्वको एक टोली र विमानस्थल ३५ वडा कार्यालयका प्राविधिक समितिले स्थलगत निरीक्षणमा उक्त प्रतिवेदन तयार गरी सो निर्णय गरेको कामपाले बताएको छ ।
सो स्थानमा रहेका अन्य हवाई व्यवस्थापनमा समस्या उत्पन्न गराउन सक्ने घरको पनि अनुगमन भइरहेको महानगरपालिकाले जनाएको छ ।