arrow

जानकी मन्दिरमा तोडफोड आरोपमा झा पुनः पक्राउ

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Morcha-protest.jpg.jpeg
महेन्द्रनगर (धनुषा)। जनकपुरको जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा एक पटक पक्राउ परी थुना मुक्त भएको दुई साता नबित्दै शिला झालाई धनुषा प्रहरीले पुनः आइतबार प्रहरीले पक्राउ गरेको छ । विवाह पञ्चमीको दिन जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारी पूजाअर्चनाका लागि जानुभएका बेला विरोध प्रदर्शन गर्ने क्रममा मन्दिरमा तोडफोड गरेको भन्दै प्रहरीले झालाई पक्राउ गरेको थियो ।
 
यसअघि झालाई पुस ९ गते पनि पक्राउ गरिएको थियो । जनकपुर–४ थापा चोककी ४० वर्षीया शिलादेवी झा मन्दिर तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेपछि प्रहरीले उनलाई पुनः पक्राउ गरेको जनाइएको छ । झालाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । 
 
जिप्रका धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नकुल पोखरेलका अनुसार विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउनुभएको राष्ट्रपति पूजाअर्चना गरी फिर्ता सवारी भएपश्चात् जानकी मन्दिरमा दर्शनका लागि जाने भक्तजनको समूहमध्येबाट केही व्यक्तिले जानकी मन्दिरको मुख्य मूर्ति रहेको गर्भगृहको ढोका, काठको रेलिङ र फलामको बारमा लात्तीले हिर्काई तोडफोड गरेका थिए । 
 
उक्त घटनामा निज शिलादेवी मुख्य नाइके भई मुख्य मन्दिरमा प्रवेश गरी तोडफोड गरेको दृश्य विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित भएकाले उक्त दृश्यको आधारमा जिल्ला प्रहरी कार्यालयले सुक्ष्मरुपमा अनुसन्धान गरी तोडफोड गर्नेको एकीन पहिचान भएपश्चात् पुनः पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ