arrow

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र छायाङ्कन, पहिलो रोजाइ सगरमाथा

logo
प्रकाशित २०७४ असार ३ शनिबार
kent-harvey-with-camera_h.jpg

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् ।

छायाङ्कन भएका चलचित्रमध्ये २५ वटा विदेशी, एक सार्क र २३ नेपाली रहेका छन् । एक चलचित्र निर्माणका लागि विदेशी मुलुकसँग एक हजार अमेरिकन डलर, सार्क मुलुकसँग २५ हजार नेपाली रुपैँया र नेपालीसँग  पाँच हजार रुपैँया लिने गरेको विभागले जनाएको छ ।

विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले छायाङ्कन भएका चलचित्रमध्ये सबैभन्दा धेरै सगरमाथा राष्ट्रिय निकुञ्जमा हुने गरेको जानकारी दिए  । उनले भने, “सगरमाथा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यको रुपमा महत्व रहेको क्षेत्र भएकाले यस क्षेत्रमा धेरै छायाङ्कन हुने गरेको छ ।”

यसका साथसाथै बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जलगायतमा धेरै छायाङ्कन हुने गरेको छ ।

चलचित्रका छायाङ्कनका लागि डेनमार्क, अमेरिका, अष्ट्रेलिया, कोरिया, बेलायत, स्विटजरल्यान्ड, सिङ्गापुर, टर्की, चीन, स्वीडेन, रुस, जापानलगायतका मुलुकबाट आएको विभागले जनाएको छ । यस्तै सार्क मुलुकबाट भारत आएको छ ।

चलचित्र छायाङ्कनबाट विभागले २५ हजार अमेरिकन डलर र एक लाख ७० हजार नेपाली रुपैँया आम्दानी गरेको छ । विभागले दिएको जानकारी अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रमा गतवर्ष ३६ वटा चलचित्र छायाङ्कन भएका थिए । जसमध्ये ३५ विदेशी र एक नेपाली चलचित्र रहेको थियो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ