arrow

राजेन्द्र महतोको उपचारमा सात डाक्टर, धरानबाट दिल्ली किन ?

स्वास्थ्यलाभका लागि सद्भावना नेता कोही शक्तिपीठतिर, कसैको मौन ब्रत

logo
प्रकाशित २०७२ पुष २० सोमबार
Rajendra-mahato.jpg.jpeg
काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मार्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा केही सुधार आएको छ । आन्दोलन रोक्ने र मधेसको सम्मस्या समाधानमा अर्थपूर्ण वार्ता हुन नसकिरहेका बेला महतोको पार्टीले छुट्टै आन्दोलनको घोषणा समेत गरेको छ । विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा घाइते भएका महतोको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ । 
 
रक्तचाप र सुगर कन्ट्रोल भएको छ । पूर्णरुपमा भने सुधार हुन सकेको छैन । कन्ट्रोल भएपछि घटाउनतिर चिकित्सकहरुको टोली खटिएको छ । महतोको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भतिजा उपेन्द्र महतोले हाम्रा कुरासंग भने,‘७ जना चिकित्सकको टोली उपचारमा खटिएको छ ।’ उपचार टोलीको नेतृत्वबारे भने थाह छैन ।  
 
आइतबार सद्भावनाका महामन्त्री मनीष कुमार सुमनले महतोको स्वास्थ्य अवस्थाबारे चिकित्सकिय पूर्ण विवरण आउने सुनाएका थिए । उपेन्द्रले विवरण आएपनि चिकित्सकहरुले आफैंसंग राखेको जानकारी दिए । उनले भने,‘रिपोर्ट आएको छ, तर सात वटै चिकित्सकको विवरण यकिन गरेर मात्रै औषधिको टुंगो लाग्ने भएकाले अवस्थाबारे थप जानकारी आएको छैन ।’न्यूरो, एमआरआई, सिटी स्क्यान, इसीजी, ईको, हात–खुट्टा दुबैको एक्सरे भएको उपेन्द्रले जानकारी दिए ।
 
उनले ती सबै परिक्षणको रिपोर्टबारे चिकित्सक टोलीले छलफल गरेर औषधिको यकिन गर्ने बताएको सुनाए । झडपका क्रममा अंकलको टाउकोमा गहिरो चोट लागेको छ, ‘टाउको फुटेकै थियो’ । बायाँ हातका दुई वटा औंला टुटेका छन् । दुबै खुट्टामा लाठिले हानेका ठाउँमा काटिएको छ । उपेन्द्रले भनेका छन्,–‘सुगर र प्रेसरले घाउ थाक्न सक्दैन, त्यसैले समस्या गरिदियो ।’ कहिले सम्म पूर्ण सुधार आउँछ भन्ने जानकारी आएको छैन । 
 
वीपी प्रतिष्ठान धरानबाट दिल्ली किन ? 
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुरानो रोग सुगर र रक्तचार बढेर नियन्त्रण हुन सकेन । अस्पतालले नै दिल्ली रेफर गरिदियो–उपेन्द्रले भने । डाइरेक्टर अरविन्द सिन्हालाई सोध्नुस् ,सबै थाह हुन्छ । यसबारे प्रतिष्ठानमा बुझ्न खोज्दा सम्पर्क भएपनि टेलिफोन उठेन । जसकारण प्रतिष्ठानमा सुगर र रक्तचाप नियन्त्रण गर्ने साधन र जनशक्ति नभएकै हो वा महतोको परिवारकै दबाबमा दिल्ली रेफर गरिएको हो भन्नेबारे जानकारी आउन सकेन । 
 
नेता, कार्यकर्ताको भक्ति 
सद्भावना अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य लाभको कामना गर्दै पार्टी कार्यकर्ताले भक्ति भावमा जोड दिएका छन् । केही दिन अघि मात्रै सप्तरीमा मृत्युन्जय पाठ गरेका कार्यकर्ता भारतको स्वास्थ्य लाभको कामना गर्न मुजफरपुरस्थित शक्तिपीठ पुगेका छन् । उनीहरुले पूजा आर्चना गरे । आइतबार सद्भाना केन्द्रीय सदस्य योगेन्द्र राय यादवको नेतृत्वमा भारतको विहार पुगेका नेताहरुले मुजफरपुरस्थित काली मन्दिरमा पूजा अर्चना गरेका हुन् ।
 
स्वास्थ्य लाभको कामना गर्न शक्तिपीठ पुगेका सद्भावना नेताहरू भारतीय राजनीतिक शक्ति केन्द्रका नेतासँग भेटघाट गरेर मधेस आन्दोलनमा सहयोगको आग्रह गरेका छन् । विहार विधानसभामा सहभागी दलका नेतासँग मधेस आन्दोलनमा समर्थन गर्न उनीहरूले आग्रह गरे । टोलीमा सहभागी नेताले सरकार र प्रमुख तीन दलले मधेसका समस्या समाधानप्रति चासो नदिएको भन्दै आन्दोलनलाई समर्थन गर्न आग्रह गरेका हुन् । 
 
सद्भावना टोलीले विहार विधानसभामा सबैभन्दा ठूलो दल बनेको जनता दल युनाटेडका नेता लालुप्रसाद यादव, भारतीय जनतापार्टी विहारका नेता सुशील मोदी, राष्ट्रिय जनता दलका उपाध्यक्ष एवं पूर्व केन्द्रीय मन्त्री रघुवंश नारायण सिंहलगायतसँग छुट्टा–छुट्टै भेटघाट समेत गरे । 
 
यता, सद्भावना पार्टीका नेताहरु सरकार र तीन दललाई माग सुनुवाईका लागि दबाब दिन विरगन्जको घण्टाघर अगाडी मौन ब्रत बसेका छन् । पार्टीको निर्धारित कार्यक्रम अनुसार आइतबार उनीहरु मध्यान्न १२ बजे देखि १ बजे सम्म मौन ब्रत बसेका हुन् । पार्टी महामन्त्री मनीष कुमार सुमनले समेत आफु मौन ब्रतमा बसेकाले टेलिफानमा कुरा गर्न नसकेको प्रष्ट्याएका छन् । 
 
मौन ब्रत  
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ