arrow

तरुण दलका उमेदवार पार्टी तिर सर्दै

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
tarun-dal.jpg.jpeg
काठमाडौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महाधिवेशन लामो समय सम्म पनि नभएपछि तरुण नेताहरु पार्टीकै महाधिवेशनमा प्रतिश्पर्धा गर्ने भएका छन् । 
 
तरुण दलको महाधिवेशनमा सहभागी हुन नपाएकाले दलको नेतृत्व हाँक्न खोज्ने नेताहरु नै  पार्टी तिर खुट्टा उचाल्न थालेका हुन् । 
 
हरेक तिन तिन बर्षमा महाधिवेशन हुनु पर्नेमा २०६४ साल देखि महाधिवेशन हुन नसकेपछि तरुण दलका नेताहरु पार्टी तिरै लाग्नु पर्ने वाध्यता आईपरेको तरुण दलको अध्यक्षका आकांक्षी नारायण भट्टराई बताउछन् । तरुण दलमा राजनितिक भविश्य खोज्दा खोज्दै उमेर जान लागेकाले पार्टी तिर लाग्नु परेको उनको भनाई छ । उनले तरुण दलको अधिवेशन कहिले हुन्छ भन्ने निधो नभएकाले अधिवेशन हुने बेला सम्म उमेर गईसक्ने खतरा देखेर पनि आफुले पार्टीको केन्द्रीय सदस्यमा उमेदवारी दिने तयारी गरेको जानकारी दिए । तरुण दलमा ४५ बर्ष नाघेपछि स्वतः सदस्यता खारेज हुने व्यवस्था रहेको छ ।
 
पार्टीको अधिवेशन भन्दा अगाडी तरुण दलको अधिवेशन भएको भए तरुण दलको अध्यक्षमा निर्वाचन लड्ने बताउदै आएकाहरु पनि अहिले दललाई छाडेर पार्टी तिर लागेका छन् । 
 
तरुण दलका प्रभावशाली नेता तथा पुर्व पदाधिकारीहरु मध्ये नागेश्वर यादव, निराजन केसी, राधा घले, टेकराज पौडेल, दामोदर कोईराला, हुर्मत न्यौपाने, खिमानसिं रायमाझी लगायतले आफुलाई तरुण दलको अध्यक्षका आकांक्षी बताउदै आएपनि अहिले भने पार्टीको जिम्मेवारी लिने कसरत गरेका छन् । उनीहरु मध्ये कोही पार्टीको केन्द्रीय सदस्य र कोही स्थानिय तहका विभिन्न पदहरुमा उमेदवारी दिने तयारी गरेका हुन् । 
 
तर तरुण दलको पटक पटक कार्यवहाक अध्यक्ष भएका पुर्व सचिव जन्मजय तिमिल्सीनाले  भने पार्टीको महासमिति सदस्य वाहेक अन्य कुनै पनि पदमा प्रतिश्पर्धा नगर्ने जानकारी दिए। बर्दियाबाट यसअघि सर्वाधिक मत सहित पार्टीको महासमिमिति सदस्य भएका तिमील्सीनाले अझै एक कार्यकाल तरुण दलमै रहेर काम गर्ने सोंच बनाएको स्पष्ट पारे । 
 
तरुण दललाई नेपाली कांग्रेसको नेतृत्व उत्पादनको उर्वर भूमीको रुपमा लिईन्छ । तरुण दलको नेतृत्व हाँकेर पार्टीको जिम्मेवारीमा गएकाहरुको अहिले पार्टीमा पनि राम्रो प्रभाव देखिन्छ । 
 
तरुण दलका पुर्व अध्यक्ष बालकृष्ण खांड पटक पटक मन्त्री तथा सांसद भएका छन भने अहिले पार्टीको पदाधिकारीका लागि कसरत गरिरहेका छन । उनकै कार्यकालका सचिव धनराज गुरुङ पार्टीको केन्द्रीय सदस्य तथा सांसद छन् । दलका पुर्व अध्यक्ष महेन्द्र यादव र दलका पुर्व केन्द्रीय सदस्य शंकर भण्डारी सांसद तथा पार्टी केन्द्रीय सदस्य भएका छन् भने दलका पुर्वउपाध्यक्ष भिष्मराज आङदम्वे केन्द्रीय सदस्य तथा संसदीय समितिका सभापति, दलका पुर्वमहासचिवद्धय सुरेन्द्र पाण्डे र गोविन्द भट्टराई पार्टी केन्द्रीय सदस्य भएका छन् । 
 
दलको अध्यक्ष भएर पनि पार्टीको प्रभावशाली जिम्मेवारीमा नपुग्नेमा महादेव गुरुङ र विनोद कायस्त मात्रै हुन् । अर्का पुर्व महासचिवद्धय अनिलकृष्ण प्रसाई र पुष्प पराजुली पनि पार्टीको काममा लागेको धेरै भएपनि महत्वपुर्ण जिम्मेवारी पाउन सकेका छैनन । 
 
कांग्रेसका संस्थापक नेता विपी कोईरालाले युवाहरुलाई राजनितिक अधिकारका लागि अग्रसर गराउने उद्धेश्यले २०१० साल कार्तिक १० गते नेपाल तरुण दलको स्थापना गरेका थिए । दलका पहिलो अध्यक्ष सिंहध्वज खड्का हुन् । उनकै नेतृत्वमा थापाथलीमा आयोजित दलको महाधिवेशन उद्घाटनका क्रममा २०१७ पुस १० गते राजमा राजा महेन्द्रले कु गरेर विपी कोईरालालाई कार्यक्रमस्थलबाटै गिरफ्तार गरी शासन सत्ता हातमा लिएपछि तरुण दललाई प्रतिवन्ध लागेको थियो । तरुण दलको पुर्नस्थापना भने २०५४ सालमा भएको हो । नेपालगञ्जमा भएको पार्टीको महासमिति बैठकले विधान संशोधन गर्दै तरुण दललाई पुर्नस्थापना गर्ने निर्णय गरेपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाले नेपाल विद्यार्थी संघका पुर्वअध्यक्ष बालकृष्ण खांडलाई अध्यक्षमा मनोनयन गरेका थिए । उनले दलको विधान, संगठन लगायतका संपुर्ण काम गरे । खांडकै नेतृत्वमा दलको दोस्रो महाधिवेशन २०५८ सालमा गरी उनी आफै सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित भए । 
 
खांडपछि महादेव गुरुङ, विनोद कायस्थ र महेन्द्र यादव क्रमशः अध्यक्ष भए । अहिलेका अध्यक्ष उदयशमशेर राणलाई भने दलको अधिवेशन ६ महिनामा गर्न भन्दै सभापति सुशील कोईरालाले २०६८ माघमा मनोनयन गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ