arrow

भूकम्पपीडितलाई धुर्मुस सुन्तलीले दिए २० लाखको ब्ल्याङ्केट

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Dhurmus-2.jpg.jpeg
काठमाडौं। चर्चित हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्पपीडितलाई ब्ल्याङ्केट दिएका छन्। अत्याधिक चिसोका कारण भूकम्प पीडितको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन्। 

धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिकाले सिंगो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो। चिसो बढेर भूकम्प पीडितको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २० लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको संस्थाले जनाएको छ। भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जति सक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको धुर्मुसले बताए।

सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानिसलाई भए पनि चिसोबाट बचाउन आफुहरुले सहयोगका लागि सकेको पहल गरेको उनको भनाई छ। एउटा ठूलो विपद्बाट बाँचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको धुर्मुस सुन्तलीले सुनाए। यस अघि धुर्मुस सुन्तली आफैले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए। टहरामा बसीरहेका भूकम्प पिडीतलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदान गर्न यस्तो पहल गरेको सुन्तलीले बताईन्। दिनमा जाडोबाट जसो तसो बाँचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले जनाईन्। 

संस्थाका नेपाल संयोजक मधुसुुधन उपाध्यायले भूकम्प पिडीतका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताए। धुर्मुस सुन्तलीले भूकम्पपछि विश्वासीलो र पारदर्शी काम गरेकाले उनीहरुमार्फत सिङ्गो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाई छ। 

आफुले मात्र धेरैलाई सहयोग गर्न नसकेपछि धुर्मुस सुन्तलीले सहयोगका लागि देश, विदेशमा रहेका नेपालीसँग पहल गरीरहेका छन्। प्राप्त सहयोगलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमा पुगेर धुर्मुस सुन्तलीले आफ्नै हातले वितरण गर्ने गर्छन्। एक जोडी कलाकारले सिङ्गो गाविसबासीलाई नै न्यानो दिनु आफैँमा ठूलो कुरा भएको स्थानीय जीतबहादुर तामाङले बताए। चिसोका कारण निकै समस्या भइरहेको समयमा पनि सरकारबाट कुनै सहयोग नपाएको समयमा आफ्नो लागि धुर्मुस सुन्तली नै सरकार भएको अर्की स्थानीय पुतली मगरले खुशि बाँडीन्। रात कटाउन मुस्किल परिरहेको समयमा धुर्मुस सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानो सँग सुत्ने भन्दै बराम्चीबासीले खुशि व्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ