arrow

नागरिक नै वास्तविक नायक–नायिका

logo
वसन्तप्रकाश उपाध्याय,
प्रकाशित २०७४ असार १४ बुधबार
strechar-old-man-hospital.jpg

आँधीले रोक्न सक्दैन...
बाढीले छेक्न सक्दैन...
खुब बजे एकताका उदित र दीपा । संयोगले यही मर्ममा सिंगो देश उभियो यतिखेर । युगदेखि युगसम्म प्रभाव पार्ने एउटा ऐतिहासिक तिथि बन्यो– असार १४ । 

ठ्याक्कै भोलि– धान दिवस । असार १५ को स्वर्णिम कल्पनामा भेल छोपेर बसेका पाँचथरेले रोपाइँभन्दा मताधिकारलाई प्राथमिकतामा पारे । अढाई नबज्दै बाजुरातिर अपेक्षित मत खस्यो । टेलिकम–टावर नचल्दा सम्पर्कविहीन बन्यो रुकुम । तर चुनाव रोकिएन । 

उत्साह र उमंगको लहरले इलाम र कञ्चनपुरमा बम पड्कदै गर्दा पनि ‘भागदौड’ मच्चिएन । दाङमा नागरिक लक्षित फालिएको बमलाई सुरक्षाकर्मीले भुइमा झर्न नपाउँदै अन्यत्र फालेर भरोसा बचाए । कैलालीको क्याम्पस रोडमा भेटिएको बन सेनाको डिस्पोज गर्‍यो । रोल्पा भनभनेमा २–४ मतपत्रमा एसिड हालियो ‘लुते–मानसिकता’ दर्शाउँदै । त्यही परिवेशमा बझाङबाट प्रकाश भाइ भन्दैथिएः ‘जयपृथ्वीबहादुर नगरपालिकामा हाम्रो वर्चस्व हुन्छ दाइ ।’

बाँडिएको थियो– कार्टुनका कार्टुन वियर पाल्पाको रामपुरतिर मत प्रभाव पार्न । पहिरो झर्दै थियो तेह्रथुमको म्यागलुङ छेउछाउ । अरु त अरु विराटनगर छेउकै लोहन्द्रा खोलामा ‘बाढी’ देखियो । तर रोकिएन जन–उभार । मुरी उब्जाउन माना छाडेर भोकभोकै र थकाइबीच पनि असीग्राम–रुवाखोलामा लामवद्ध भए मतदाताहरु । 

झडप–झगडाको ठूलो आशंका थियो । विरोध–विमतिमा ‘डर’ सुनिन्थ्यो । जागे र ताते नागरिक मनोबल र मनोदशा । सुरक्षा–प्रबन्धभन्दा स्वरक्षाको आत्मबलमा मान्छेहरुले छाता ओढे । गमवुट लगाए । ‘मरता तो क्या नहीं करता’– थिएन यो । उनीहरुले नवीन अपेक्षामा ‘घना बादलबीच चाँदीको घेरा’ देखेका थिए । 

राजेश हमाल र कृष्टि मैनाली एउटा गीति विम्वका मात्रै नायक–नायिका हुन् । साँचो अर्थमा नागरिकहरु नै नायक–नायिका हुन् । झापाका सुरेन्द्र घिमाल र नरेश सतार, अनि विराटनगरका नरेन्द्र यादव अनि नेपालगञ्जका मोहम्मद खाँ र डडेल्धुराका जनक ऐडी जागे भने ‘विप्लव–बन्द’ आफै खुल्छ । नदिओस् न पार्टीले टिकट, जनअनुमोदिन हुन् उठेका अपेक्षाहरु स्वत खडा हुँदा रहेछन् । 

जलप्रवाह रोक्न जस्तोसुकै ‘ड्याम’ लगाइए पनि त्यसको निकासमा उर्जा जन्मन्छ नै । जति भरिन्छ असहमतिको हावा भकुण्डोमा त्यो झन् झन् उफ्रन्छ । रोगीले ‘रोग’ विर्सेर, वेरोजगारले ‘भात’ छाडेर अनि दुःखलाई हाँसोले पुरेर अधिकारको ‘बूढी औला’ तेर्स्याएपछि कसैले कसैलाई ‘रोक्न–छेक्न’ सकिँदो रहेनछ । यही देखियो बैशाख ३१ देखि असार १४ सम्म पुग्दा ।



नयाँ