arrow

लालजोडीको गीत गाउँदै रेखा थापाले भनिन् ‘माँ–कसम’

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Singer-Rekha.jpg.jpeg
काठमाडौं । चर्चित नायिका रेखा थापाको पहिचान केबल नायिकामा मात्र सीमित छैन । फिल्म निर्मात्री हुँदै निर्देशक समेत बनिसकेकी उनी आफैले बनाएको फिल्म ‘रामप्यारी’को संगीतकार पनि हुन् । संगीतकार बनेपछि अब उनको नाम गायनसँग पनि जोडिएको छ । हुन त उनले यसअघि नै फिल्म ‘वर्षात’मा कोरियोग्राफर तथा गायक शंकर बिसीसँग पनि गीत गाएकी थिईन् । यिनै रेखा मंगलबार भने पुतलीसडकस्थित लक्ष्मण शेषको स्टुडियोमा भेटिईन् । 

पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको दोस्रो फिल्म ‘लालजोडी’को ‘माँ–कसम’बोलको गीत रेकर्ड गराउन उनी त्यहाँ थिईन् । उनलाई गायनमा साथ दिएका थिए, अहिलेका चर्चित गायक प्रल्हाद तिमिल्सिना । लक्ष्मणकै शब्द तथा थानेश्वर गौतमको संगीत रहेको उक्त गीत गाउँदा रेखा निकै खुशी भईरहेकी थिईन् । 

‘म व्यावसायिक गायिका त होईन्, तर पनि लक्ष्मण साथी भएकाले उसको प्रस्तावलाई नकार्न सकिन, म शोखका लागि गाउँछु, व्यावसायिकताका लागि होईन्,’उनले भनिन्, ‘यसअघि फिल्म वर्षातमा पनि शंकर बिसीको अनुरोधमा गीत गाएको थिएँ, यसपटक पनि लक्ष्मणको अनुरोधमा गाएको छु, रमाइलो भईरहेको छ ।’

रेखासँग पहिलोपटक गीत गाएका गायक तिमिल्सिना पनि रेखाको गायकी शैलीबाट प्रभावित भएका रहेछन् । ‘उहाँ अभिनयमा जति प्रखर हुनुहुन्छ, गायनमा पनि उत्तिकै खतरा हुनुहुँदो रहेछ,’तिमिल्सिनाले भने,‘रेटिङ गर्ने हो भने पनि म रेखाजीलाई १० मा सात नम्बर दिन्छु ।’

निर्देशक सुवेदीका अनुसार प्रेममा झगडा परेर रिसाएका प्रेमी प्रेमिकालाई फकाउने किसिमको गीतमा रेखा र प्रल्हादको स्वर छ । ‘फिल्म बारे विस्तृत रुपमा चाँडै नै मिडियालाई जानकारी दिनेछौं ।’उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ