arrow

भट्टराईले पार्टी परित्याग गरेर नेपाली जनतालाई धोका दिए : अध्यक्ष दाहाल

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
prachanda-again.jpg.jpeg
काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान बन्न नदिएर मुलुकलाई अस्तव्यस्त बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सफल भएका राजनीतिक दल पुनः आन्तरिक समस्या समाधान गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घको केन्द्रीय कार्यालयको विस्तारित बैठकलाई आज आफ्नै निवास लाजिम्पाटमा सम्बोधन गर्दै उहाँले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताविरुद्ध हुने कुनै पनि गतिविधि आफूहरुलाई सह्य नभएको बताउनुभयो । 
 
अघिल्लो संविधानसभाबाट संविधान बन्न नदिन कम्मर कसेर लागेकाहरु दोस्रो संविधानसभालाई समेत असफल बनाउन लागि परे पनि उनीहरुको सपना पूरा नभएको भन्दै अध्यक्ष दाहालले नेपालको आन्तरिक विषय आन्तरिकरुपमा नै समाधान हुने भएकाले कोही कसैले चासो राख्नु आवश्यक नभएको स्पष्ट पार्नुभयो । 
 
संविधानसभाबाट संविधान बन्नु आफूहरुले दश वर्षसम्म सञ्चालन गरेको जनयुद्धको समेत एक हिसाबले सफलता नै भएको भन्दै अध्यक्ष दाहालले कमजोरी भएका केही विषयलाई आगामी दिनमा क्रमशः संशोधन गरेर समृद्ध बनाइने उल्लेख गर्नुभयो । संविधान निर्माणको अन्तिम समयमा भारतले विशेषदूत नै पठाएर हस्तक्षेप गरेको भन्दै उहाँले नेपालको आन्तरिक विषयमा यसो गर र उसो गर भन्ने अधिकार कोही कसैलाई नभएको र नेपाली जनता नै आफ्नो निर्णय गर्न सक्षम छन् भन्नुभयो । 
 
फरक एक प्रसङ्गमा उहाँले डा बाबुराम भट्टराईलाई पार्टीको नेतृत्व दिने प्रक्रिया सुरु भएकै समयमा पार्टी परित्याग गरेर नेपाली जनता, पार्टी र आन्दोलनलाई धोका दिएको बताउनुभयो । एमाओवादी नै नयाँ शक्ति भएकाले नयाँ शक्तिको बखान गर्दै हिँड्नु समयकै बर्बादी भएको उहाँको कथन थियो । 
 
सङ्घको अधिवेशन फागुन ७ गते 
 
यसैबीच, क्रान्तिकारी पत्रकार सङ्घको दोस्रो अधिवेशन आगामी फागुन ७ र ८ गते काठमाडौँमा हुने भएको छ । एमाओवादी अध्यक्ष दाहालको प्रमुख आतिथ्यतामा आज बसेको सङ्घको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ