arrow

धनकुटामा गाँजा संरक्षणमा सुरक्षा निकाय, ठूलालाई क्लिन चिट, सानालाई कारवाही

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
District-07-Dhankuta-hamrakura.jpg.jpeg
काठमाडौ । प्रहरी संगठन भित्रको बेथिति नै हो । त्यहाँ कुनै पनि काण्ड हुँदा सकेसम्म त्यसको आधिकारिक अधिकारीहरु नपरी उनको आदेश र खटन पटनमा काम गर्ने साना कर्मचारीहरुलाई दोषी देखाई उनीहरुलाई उन्मुक्ति दिलाईने गरिन्छ । प्रहरी संगठन भित्र केन्द्रमै घटेका ठूला ठूला काण्डहरुमा देखिएको ट्रेण्ड पनि यही हो । ठूला कर्मचारी शक्ति केन्द्रका हुने र साना निर्धा कर्मचारीको शक्ति केन्द्रसँग सम्बन्ध नहुँदा ठूलालाई कुनै न कुनै बहानामा सानालाई फसाएर चोख्याउने गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा पनि यस्तै हाकीम चोख्याउन साना कर्मचारीहरुलाई बलिको बोका बनाउने काम भएको छ । धनकुटका विभिन्न ठाँउमा हुने गरेको ब्यवसायिक गाँजा खेतीलाई संरक्षण गर्ने प्रहरी प्रशासनका ठूला कर्मचारीलाई चोख्याईएको छ । ठूलालाई चोख्याउन साना निर्दोष प्रहरी कर्मचारीलाई भने बलिको बोका बनाईएको छ ।

गाँजा उत्पादक र ब्यापारीलाई संरक्षण गरेको आरोपमा प्रहरी निरिक्षक, नायव निरिक्षक, सहायक निरिक्षक र जवानलाई कारवाहीको सिफारिस गरेर मुख्य रुपमा लाईन मिलाएका जिल्लाका प्रहरी, प्रशासन, सशस्त्र र  राष्ट्रिय अनुसन्धानका प्रमुखहरुलाई भने क्लिन चिट दिईएको छ ।

एक प्रहरीले भने, ‘गाँजाको खेतीको आम्दानी लिने जिल्लाका एसपी, सिडिओ, राष्ट्रिय अनुसन्धानका प्रमुख र सशस्त्र प्रहरीका जिल्ला प्रमुख हुन तर कारवाहीमा हामी प¥यौ ।’ ती प्रहरीले गाँज उत्पादक र निर्यातकर्ताबाट निरन्तर सहयोग पाउने ठूला कर्मचारीलाई उन्मुक्ति दिदै सानालाई कारवाही गरेर अनुसन्धान गरेको देखाउन खोजिएको नाटक रचिएको गुनासो गरे ।

धनकुटामा हुने गरेको गाँजा खेती र त्यसमा संलग्न प्रहरीका विषयमा अञ्चल प्रहरी कार्यालय कोशीका  प्रमुख एसएसपी पवन खरेलको नेतृत्वको टोलीले छानविन गर्दा २२ जना सुरक्षाकर्मी दोषी देखिएका छन । गाँजा खेतिमा प्रहरीको संरक्षण गरेको पाईएपछि पुष ३ गते प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याल अनुगमनका क्रम धनकुटका गएका थिए । गाँजा खेतीको संरक्षणमा संलग्न पाईएको ईलाका प्रहरी कार्यालय छिन्ताङका सई राजकुमार बस्नेतसहित १२ जना र प्रहरी चौकी त्रिवेण्ीका असई नरेश विकसहित ९ जनालाई तीन सातादेखि अञ्चल कार्यालय धरानको नियन्त्रणमा राखिएको छ ।

छिन्ताङ्गबाट सरुवा भई दुई महिना अघि सप्तरी पुगेका प्रहरी निरिक्षक नारायण भट्टराई र केही दिन त्रिवेणी चौकीमा बसेका सई मोहन बागटी पनि कारवाहीको दायरामा आएका छन । एक महिना अघि घुमुवा बसेका धनकुटा जिल्ला प्रहरीका असई शिव शर्मा र जिल्ला प्रहरी मुद्दा फाँटका सई दिनेश अधिकारीलाई अञ्चलन प्रहरी कार्यालयमा राखिएको छ । मुख्य रुपमा गाँजा माघ मध्यमा काटिने गरिन्छ । त्यो बेला ब्यापारी र किसानबाट प्रहरीले बोट गन्ती १५ रुपैयाको दरले लिने गरेको र यो जिल्ला प्रहरी कार्यालयकै निर्देशन र रेखदेखका हुने गरेको छ । तर यो कारवाहीमा कार्तिक–मंसिरमै सरुवा भएर गएकालाई पनि तानिएको छ । यी मध्ये चार अधिकृतको बर्खास्ती र एकको घटुवको तयारी भईरहेको छ । स्रोतका अनुसार प्रहरी महानिरिक्षकलाई देखाउन नै एसपी देखिका प्रहरी अधिकारीलाई बचाउँन अरनखट्नमा काम गर्ने र सरुवा भएर गईसकेकालाई पनि तानेर कारवाही गराउने तानाबाना सहित सिफारिस गरिएको छ ।

हालसालै छिन्ताङ्ग गएका प्रहरी निरिक्षक विरेन्द्र ठाकुरलाई पनि कारवाही हुन सक्ने बताईएको छ । धनकुटाका विभिन्न क्षेत्रमा प्रहरीले गाँजा खेतीबाट रकम असुली गरेको पाईएपछि जिल्ला प्रहरी प्रमुख एसपी बिभुतिराज पाण्डेसँग पनि अञ्चल प्रहरीले बयान लिएको थियो । यसअघिका एसपी प्रदिप श्रेष्ठले पनि गाँजा खेती गर्नेलाई सघाएको देखेर क्षेत्रीय प्रहरीले पाण्डेलाई त्यहाँ पठाएको थियो । तर दुबै एसपीलाई शक्तिको आडमा चोख्याईएको छ ।

श्रेष्ठको भर्खरै अन्यत्र सरुवा भएको छ । प्रहरी बरिष्ठ उपरिक्षक खरेलका अनुसार गाँजा खेती भएको थाहा पाएर सूचना लुकाउने सबै प्रहरीलाई हटाएर नयाँलाई पठाईएको हो । त्यस क्षेत्रका गाँजा उत्पादकसँग प्रहरी प्रशासनलाई दिने भन्दै प्रतिबोट १५ रुपैयाका दरले करिब एक करोड रुपैया संकलन गरी छिन्ताङ्गका होटल ब्यवसायी एवम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगेन्द्र राई फरार भएको प्रहरीको भनाई छ । राई फरार भएपछि उनको मोबाईलको कल डिटेल हेरेर फोन सम्पर्कमा रहेका प्रहरी पनि कारवाहीमा पर्दैछन । गाँजा काण्डमा कारवाहीमा पर्ने भएपनि उनीहरुले हाकिमहरुको समेत भण्डाफोर गर्ने देखिएको छ ।

यसरी हाकिमको निर्देशनमा काम गर्ने साना कर्मचारीलाई कारवाही गरेर ठूलालाई चेख्याउँदा मुख्य रुपमा जनतासँग रहने र फिल्डमा ज्यानको बाजी राखेर खट्ने प्रहरीको मनोबल घट्न थालेको छ । यसले सम्पूर्ण प्रहरी संगठनलाई नै गंभिर असर पार्ने देखिएकोले प्रहरी प्रमुखले यसमा आफै ध्यान दिन आवश्यक देखिएको साना प्रहरी कर्मचारीहरु बताउँछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ