arrow

बहसमा दोलखाको फिल्म सिटीः दोलखामै बनाउनेकी नबनाउने ?

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Keshav-Madan.jpg.jpeg
काठमाडौं । २०६८ सालको फागुन महिनामा नेपाल चलचित्र निर्देशक समाजले दोलखामा आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला’को बेला तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले दोलखामा फिल्म सिटी बन्ने घोषणा गरे । भण्डारीले घोषणा गरेको एक महिना बित्न नपाउँदै दोलखाकै सिंगटीमा भएको एमाले दोलखा क्षेत्र नम्बर २ को अधिवेशन उद्घाटनका तत्कालिन एमाले नेता केपी शर्मा ओलीले आम दोलखाबासीलाई फिल्म सिटी बन्न लागेकोमा बधाई दिँदै स्थानीयको समृद्धि र विकासको शुभकामना दिए ।  भण्डारी र ओलीको कुरा एउटै आउँदा दोलखाबासीमा खुशी देखिएको थियो ।

तिनै ओलीले दिएको त्यो बधाई र शुभकामनाका शब्द ठीक चार वर्ष पछि भने फेरिएको छ । गत साता प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा दोलखामा फिल्म सिटी बन्दैन भन्ने अभिव्यक्ति दिएपछि दोलखामा उनको व्यापक विरोध मात्रै भएन फिल्मकर्मी पनि प्रधानमन्त्रीको भनाई सुनेर आश्चर्य र अन्यौलमा छन् । प्रधानमन्त्रीले ‘दोलखामा फिल्म सुटिङ स्टुडियो हुँदैन। हप्तामा दुई घन्टा घाम लाग्ने ठाउँमा स्टुडियो बन्दैन। स्टुडियो त यस्तो होस् जहाँ हिरोसँग रिसाएको झोकमा हिरोइनले हामफाल्ने तलाउ होस्। जहाँ हिरोइन रिसाएर माइती जाने ठाउँ होस्।’ भन्ने अभिव्यक्ति दिएका थिए । ओलीले तनहुँ, गोरखा, लमजुङ लगायतका जिल्लालाई समेटेर स्मार्ट सिटी बनाउने योजना रहेको र त्यसमा नै फिल्म स्टुडियो पनि बन्ने बताएका थिए।
 
तत्कालिन बोर्ड अध्यक्ष भण्डारीले फिल्म सिटीको कुरा गरेपछि स्थानीय अगुवा तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सहितको टोलीले जुँगु गाविसमा पर्ने हनुमन्ते डाँडा, शैलुङेश्वरको शैलुङ र लाँकुरीडाँडा गाविसको डाङडुङे डाँडालाई प्रस्तावित ‘लोकेशन’को रूपमा चयन गरेको थियो । त्यसमध्ये लाकुरीडाँडा–८ र ९ मा पर्ने डाङडुङे डाँडाको १ हजार ५ सय रोपनीमा फैलिएको राष्ट्रिय वन क्षेत्रलाई फाइनल गरिएपछि त्यसको सम्भाव्यता अध्ययनदेखि अन्य प्राविधिक विषयमा झण्डै दुई करोड बढी खर्च भईसकेको छ । तत्कालिन समयमा चलचित्र विकास बोर्डले गठन गरेको चलचित्र नगरी निर्माण सहयोग समितिका संयोजक तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ प्रधानमन्त्री ओलीको बोलीमा राजनीतिक पूर्वाग्रह नदेखिए पनि एमालेमा आस्था राख्ने कलाकारहरुको प्रभावमा प्रधानमन्त्रीले बोलेको अनुमान लगाउँछन् । ‘मलाई लाग्छ, सरकार प्रमुखले बोलेको कुरामा राजनीतिक पूर्वाग्रह हुँदैन, तर केही कलाकार जो आफुलाई सिर्जनशिल क्षेत्रका व्यक्ति भने पनि पार्टीगत आस्थामा बढी जोड दिन्छन्, तिनकै बहकाउमा लागेर प्रधानमन्त्रीको बोली आएको हुनसक्छ,’ श्रेष्ठ भन्छन्, ‘ किनभने यस्तो बोली आउँछ भने हामीले कल्पना नै गरेका थिएनौं, एमालेको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न दोलखा आउँदै तिनै ओलीले दोलखामा फिल्म सिटी बन्ने भएकोमा बधाई दिएका थिए, अहिले आएर त्यहाँ बन्दैन भन्दा हामी छक्क परेका छौं । ’
 
उनले दोलखाबासीले मिडियामार्फत नै प्रधानमन्त्रीको बोली थाहा पाएको खुलाउँदै सरकारको आधिकारिक प्रतिक्रिया वा खण्डन नआएकोमा आश्चर्य व्यक्त गरे । ‘ यदि दोलखाबाट अन्यत्र फिल्म सिटी लगियो भने त्यसको परिणाम राम्रो हुनेछैन,’ उनले चेतावनी दिए, ‘ हाम्रो ठाउँमा फिल्म सिटी बन्ने भयो भनेर चार वर्षदेखि दिनरात खटिईरहेका छौं, यो बेला अन्य ठाउँमा लाँदा कसैलाई पनि सह्य हुँदैन ।’
 
बोर्डका उसबेलाका अध्यक्ष भण्डारीले दोलखामा फिल्म सिटीको अवधारणा ल्याउँदा त्यो निर्णयलाई फिल्म निर्माता केशव भट्टराईले खुलेरै विरोध गरे । ‘ नेपाल आफैमा खुला स्टुडियो हो, त्यसैले यहाँ अथवा त्यहाँ फिल्म स्टुडियो खोल्नुपर्छ भन्ने आवश्यकता नै छैन, बरु सरकारले हाम्रा लागि इन्डोर स्टुडियो बनाईदियोस्,इन्डोरका लागि हेटौडा सिमेन्ट उपयुक्र्त छ,’ उनले भने, ‘मैले पहिलेदेखि भनिरहेको छु, दोलखा फिल्म सिटीको लागि उपयुक्र्त छैन, त्यहाँ घाम देख्न पाइँदैन, खरिढुंगाबाट उकालो लाग्नासाथ जुका लाग्न शुरु हुन्छ, न खान बस्न कुनै राम्रो होटल छ, न कुनै सुविधा छ, अदालत, मन्दिर, अस्पताललगायतका बस्तुको सिन खिच्नु प¥यो भने के गर्ने, त्यसकारण त्यस्तो ठाउँमा गएर कसरी सुटिङ गर्न सकिन्छ ?’
 
काठमाडौंबाट फिल्म सुटिङ गर्न दोलखा जान टाढा भएकाले पनि समस्या हुने उनले जिकिर गरे । ‘एउटा गीतको छायांकन गर्न ४०देखि ५० जनाको टिमलाई लिएर जाँदा निर्माताको हालत के होला, उनीहरुलाई बस्न, खानदेखि लिएर छायांकनमा कस्तो समस्या पर्ला,’ भट्टराईले भने, ‘यति सुन्दर लोकेशनले धनि छौं हामी, त्यसकारण हामीलाई किन फिल्म स्टुडियो नै चाहियो ?’ भट्टराईले आफुले विकास बोर्डले दोलखामा फिल्म सिटीको अवधारणा ल्याउँदा त्यसमाथि गरेको बुँदागत विरोध नै अहिले आएर मेल खाएकाले आफु माथि दोलखामा फिल्म सिटीको विरोध गराउन लगाउने भनि अन्यले अनुमान गरेको गुनासो गरे । ‘मैले जुन जुन एजेण्डा राखेर दोलखामा फिल्म सिटी हुनुहुँदैन भनेर विरोध गरे, अहिले त्यही एजेण्डालाई प्रधानमन्त्रीले बोलिदिनुभएछ, त्यसकारण पनि ममाथि धेरैले शंका गरेका छन् ।’  

चलचित्र विकास बोर्डले भने यो विषयमा आफुहरु अन्यौल भएको जनाएको छ । बोर्ड स्रोतले संस्था सरकारको निर्देशनमा चल्ने भए पनि फिल्म सिटी सार्नुपर्ने भन्ने विषयमा कुनै जानकारी नभएको उल्लेख ग¥यो । ‘दोलखामा फिल्म सिटीको लागि झण्डै ७५ प्रतिशत काम सकिईरहेको अवस्थामा एक्कासी प्रधानमन्त्रीबाट यस्तो कुरा आउँदा अचम्मित भएका छौं ।’स्रोतले भन्यो । पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल, जसले दोलखाकै प्रतिनिधित्व गरेका छन् उनले पनि केही दिन अघि राजधानीमा आयोजित अन्तरक्रियामा दोलखामै फिल्म सिटी बन्ने ठोकुवा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ