arrow

कलाकार सुष्मा भन्छिन्,बुर्का लगाएर अफगानिस्तान घुमेँ

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Suahma.jpg.jpeg
काठमाडौँ । ‘कहिल्यै बुर्का नलगाएकी मैले बुर्का लगाएँ त्यो पनि विदेश घुम्दा, छोटो कपालमा बुर्का अगाडिदिँदा निकै अनौँठो खालको अनुभव भएको थियो,’ कलाकार सुष्मा राजभण्डारीले दुई महिनाअघि अफगानिस्तानको वामियान घुम्दा बुर्का लगाउँदाको अनुभव सुनाउँदै भनिन्–‘महिलालाई बुर्का नलगाई बाहिर निस्कन नदिइँदो रहेछ । त्यसैले जीवनमा नै पहिलो पटक बुर्का लगाएर घुमेँ ।’ 

सार्कस्तरीय आर्ट क्याम्पमा नेपालको प्रतिनिधित्व गर्दै कलाकार राजभण्डारीसहित भीमप्रसाद शर्मा, अरुण हिङमाङ र नरबहादुर विकेले सहभागिता जनाएकी थिईन् । ‘चार दिनको बसाइँमा हामीले रमाइलो ग¥यौँ, तर बुर्कावाला अनुभव भने एकदमै भिन्न थियो’,–उनले सुनाईन् ।

अफगानिस्तानमा बुद्धका कलात्मक मूर्ति र चौथो शताब्दीको गुम्बाले मन तानेको उनले बताईन् । ‘मुस्लिम धर्मको सुरुवात हुनु अगावै बुद्ध त्यहाँ पुगिसक्नुभएको रहेछ’, उनले भनिन्–‘हामीले अन्त देख्न नपाइने बुद्धको विशाल मूर्ति र कला त्यहाँ देख्यौँ ।’ 

बुद्धका कलात्मक मूर्ति र चित्रकलाबारे आफूलाई जानकारी भएको आधारमा त्यो कला निकै उत्कृष्ट भएको उनको ठम्याइ छ । तिनै अनुभव र कलाकारिताबाट प्रेरित भएर चारैजना कलाकारले ‘मेमोरी अफ अफगानिस्तान’ शीर्षक दिएर आफ्ना क्यानभाषमा अफगानिस्तानको अनुभव पस्किएका छन् ।

बबरमहलस्थित नेपाल कला परिषद्मा यही पुस २० गतेदेखि उक्त चित्रकला प्रदर्शनी सुरु भएको छ । पुस २६ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा चार कलाकारका करिब ५० चित्रकला राखिएका छन् । अधिकांश चित्रमा बुद्ध र शान्तिलाई प्रतिक बनाउन खोजिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ