काठमाडौं। कुवेतस्थित नेपाली राजदूतावासले विभिन्न समस्यामा परी नेपाल फर्किन दूतावासमा सहयोगका लागि आएका नेपाली महिला घरेलु कामदारलाई उद्धार गर्दै आएको जानकारी गराएको छ ।
त्यस्ता कामदारलाई नेपाल नफर्कंदासम्म कुवेत सरकारद्वारा स्थापित आवास केन्द्रमा राख्ने व्यवस्था गरिएको दूतावासले आज विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
दूतावासको आवासगृहमा कुनै समयमा करिब ३०० जना नेपाली महिला घरेलु कामदार रहेकामा दूतावासको प्रयासमा धेरै जनालाई नेपाल फिर्ता पठाइएको र अहिले त्यस्ता पाँच जना महिलामात्र बाँकी रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार समस्यामा पर्ने नेपाली महिला कामदारलाई उद्धार र नेपाल फर्काउने कार्य दूतावासबाट निरन्तर जारी रहने छ ।