खोटाङ। सडक निर्माण गर्ने क्रममा ढलेको रुखले किच्दा खोटाङमा आज तीनजना घाइते भएका छन् । हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक निर्माण गर्ने क्रममा ऐसेलुखर्क–४ बस्ने १६ वर्षीया सुस्मिता राई, १८ वर्षीय रविन राई र ५० वर्षीया गौमायाँ राई गम्भीर घाइते भएका हुन् ।
ऐसेलुखर्क–२ स्थित जङ्गलमा सडक निर्माण गर्ने क्रममा आज दिउँसो ढलेको रुखले किच्दा सुस्मिताको देब्रे खुट्टा, रविनको घुँडा र गौमायाँको काँधमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते सबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचार भइरहेको आफन्तले जनाएका छन् । स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन सडक स्थानीय उपभोक्ताले कुटोकोदालोमार्फत निर्माण गरिरहेका छन् ।
करिब ४२ किलोमिटर लम्बाइ रहेको सडक निर्माणका लागि यस वर्ष रु १४ करोड रकम विनियोजन भएको छ ।