बैतडी। जिल्ला प्रहरी कार्यालय दार्चुलाले जबर्जस्ती चन्दा सङ्कलनमा लागेको भन्दै नेकपा माओवादी विप्लव समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु विरुद्ध नै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
पक्राउ पर्नेमा विप्लव माओवादीका जिल्ला संयोजक राजेन्द्रसिंह विष्ट, राष्ट्रिय युवा स्वयम्सेवक समितिका जिल्ला संयोजक मानध्वज साउद र अखिल क्रान्तिकारीका जिल्ला संयोजक विष्णुराज लेखक रहेका छन् । गाविस सचिव, स्थानीय व्यापारी, सरकारी कार्यालयमा जबर्जस्ती चन्दा असुली गरिरहेको गुनासो आएपछि तीनै जनालाई प्रहरीले पुस २१ गते पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट चन्दा सङ्कलनमा प्रयोग गरिएको चन्दा ठेली, रकम हिसाब गरिएका डायरीलगायतका कागजात बरामद गरेको प्रहरी स्रोतले जनाएको छ । तीनै जनाविरुद्ध बुधबार जिल्ला अदालतमा चन्दा ऐन २०३० अनुसार मुद्दा दर्ता भएको छ । पक्राउ परेका विष्ट लटिनाथ–८ का स्थानीयवासी हुन् । त्यस्तै साउद ग्वानी–८ का स्थानीयवासी हुन भने लेखक गोकुलेश्वर–५ निवासी हुन् । उनीहरुलाई दार्चुलाको ग्वानीबाट नियन्त्रणमा लिइएको हो ।